सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–८, लामोसाँघुस्थित ओरिएन्ट म्याग्नेसाइट उद्योग २७ वर्षदेखि पूर्ण रूपमा बन्द रहेको छ ।
विगतका सरकारहरूले पुनः सञ्चालनको आश्वासन दिँदै आएका छन् भने वर्तमान सरकारले पनि प्रयास जारी रहेको जनाएको छ।
प्रयास जारी रहेको भनिएपनि पुनः सञ्चालन कहिले हुन्छ भन्ने विषयमा अझै स्पष्टता आउन सकेको छैन।
वि.सं. २०३५ मा स्थापना भई सञ्चालनमा आएको यो उद्योग २०५५ मङ्सिर २५ गतेदेखि पूर्ण रूपमा बन्द छ।
करिब ३ अर्ब ५९ करोड रुपैयाँ लागतमा स्थापना गरिएको यस उद्योगलाई एसियाकै ठूलो म्याग्नेसाइट उद्योगमध्ये एक मानिन्छ।
लामोसाँघुस्थित ३६४ रोपनी जग्गा र दोलखाको खरीढुङ्गास्थित ५,२०० रोपनी खानी क्षेत्रसहित कुल ५,५६६ रोपनी जमिन अहिले उपयोगविहीन अवस्थामा रहेको छ।
वि.सं. २०५४ सम्म कठिन परिस्थितिमा सञ्चालन भए पनि त्यसपछि उद्योग पूर्ण रूपमा बन्द भएको हो।
त्यसयता संघीयदेखि स्थानीय तहसम्मका सरकारहरूले पुनः सञ्चालनका लागि ठोस समयरेखा तय गर्न नसकेको स्थानीयवासीको गुनासो छ।
बलेफी–८ का अध्यक्ष रमेश श्रेष्ठका अनुसार सरकारका मन्त्री तथा सांसदहरूले अनुगमन र प्रतिवेदन तयार गर्ने काम गरे पनि व्यवहारिक प्रगति हुन सकेको छैन।
उद्योगका संरचनाहरू लामो समयदेखि प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएका छन्।
म्याग्नेसाइट उत्पादनका मेसिन तथा उपकरण काम नलाग्ने अवस्थामा पुगेका छन्।
डिबिएम भट्टी क्षेत्र भासिँदै गएको छ भने प्रयोगशाला र पदार्थ सङ्कलन केन्द्र पनि बिग्रिएका छन्।
५१ कर्मचारी क्वार्टरहरू बेवारिसे अवस्थामा छन् भने केही भवनहरू सशस्त्र प्रहरी र स्थानीय संस्थाले प्रयोग गर्दै आएका छन्।
खरीढुङ्गादेखि लामोसाँघुसम्मको १०.५ किलोमिटर रोपवे पनि पूर्ण रूपमा बिग्रिएको छ।
रोपवेका डिब्बा, तार र पोलहरू खस्ने जोखिममा रहेको र ८७ वटा टावर समेत असुरक्षित अवस्थामा रहेको स्थानीय विकास श्रेष्ठले बताएका छन् ।
उद्योग बन्द भएपछि एक हजारभन्दा बढी कामदार बेरोजगार भएका थिए। हाल पनि १८ जना कर्मचारीलाई वार्षिक करिब ६१ लाख रुपैयाँ तलब–भत्ता दिइँदै आएको छ।
उद्योग परिसरका बहुमूल्य सामग्री चोरी भइसकेका छन् भने बाँकी संरचनाहरू खिया लागेर नष्ट हुँदै छन्।
सरकारी तथ्याङ्क अनुसार नेपाल सरकारको ८३.३३ प्रतिशत र ओरिसा इन्डस्ट्रिज तथा खेतान समूहको १६.६७ प्रतिशत लगानी रहेको यस उद्योगले निरन्तर आर्थिक घाटा बेहोर्दै आएको छ।
अर्थ मन्त्रालयको सार्वजनिक संस्थान वार्षिक समीक्षा २०८२ अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्र ५१ करोड ७९ लाख रुपैयाँ घाटा भएको छ।
हालसम्म उद्योग बन्द हुँदा राज्यलाई करिब ५ अर्ब १६ करोड रुपैयाँ नोक्सान पुगेको छ।
उद्योगको खुद सम्पत्ति ४ अर्ब ७१ करोड ५० लाख रुपैयाँ ऋणात्मक रहेको छ भने ८१ करोड ९५ लाख रुपैयाँ साँवा र १ अर्ब ६८ करोड ३५ लाख रुपैयाँ ब्याज सरकारलाई तिर्न बाँकी छ।
उद्योग स्थापनाको प्रारम्भमा सरकार र निजी क्षेत्रबीच ५०–५० प्रतिशत लगानी थियो।
पछि अधिकृत पुँजी परिवर्तन गरी हाल चुक्ता पुँजी ४५ करोड रुपैयाँमा झरेको छ।
सञ्चालक समिति सदस्य दिनेशराज भट्टराईका अनुसार गुणस्तरीय डिबिएम उत्पादन हुन नसक्नु र सरकारी बेवास्ता उद्योग बन्द हुनुका मुख्य कारण हुन्।
उद्योग बन्द भएपछि आसपासका क्षेत्रमा जग्गा अतिक्रमणसमेत बढ्दै गएको छ।
विश्व बजारमा म्याग्नेसाइटको माग उच्च भए पनि उद्योग सञ्चालन नहुँदा ठूलो आर्थिक अवसर गुमिरहेको छ।
खानी तथा भू-गर्भ विभागका अनुसार यो खानीले करिब २५० वर्षसम्म उत्पादन दिन सक्ने क्षमता राख्छ।
अस्ट्रियाको आरसिई कम्पनीले सन् २०४५ देखि २०४९ सम्म परीक्षण उत्पादन गरे पनि गुणस्तरीय परिणाम नआएपछि काम रोकिएको थियो।
सह–उत्पादनका रूपमा टाल्क पाउडर उत्पादन पनि २०७१ सालसम्म चलेको भए पनि पछि बन्द भएको थियो।

