काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवको बजेट कुल गार्हस्थ उत्पादन (जीडीपी)को २५ देखि ३० प्रतिशत मात्रै विनियोजन हुने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री वाग्लेले १९-२० खर्बको बजेट विनियोजन भएपनि सरकारी खर्च भने कम गर्ने बताएका छन् ।
‘नेपालको जीडीपी बढीरहेको छ, यहि वर्ष हामी कुल ६६ खर्बको जीडीपीको कुरा गरिरहेका छौं त्यसमध्ये सरकारले बजेट विनियोजन गर्ने भनेकै २५ देखि ३० प्रतिशत मात्रै हो’ उनले भने, ‘त्यसमध्ये पनि सरकारी खर्च कम भइरहेको छ र आगामी बजेटमा पनि सरकारको खर्च अझै घटाउँदै लैजाने तयारी रहेको छ ।’
साथै आव २०८३/८४ को अन्त्यसम्म नेपालको अर्थतन्त्र करिब ७४ खर्ब सम्म पुग्ने अर्थमन्त्री वाग्लेले अनुमान लगाएका छन् ।
‘नेपालको जीडीपी ठूलो छ, करिब १२ प्रतिशतको नोमिनल वृद्धि, ६–७ प्रतिशतको वास्तविक वृद्धि लगायत मुद्रास्फितीहरु जोडिएर आगामी आवको अन्त्यसम्म पुग्दा हामी ७४ खर्बको अर्थतन्त्रको कल्पना गर्न सक्छौं’ उनले भने, ‘आगामी आवको बजेटमा १९–२० खर्बको बजेट आउने देखिएपनि १६ अर्बसम्मको मात्रै सरकारी खर्च हुने अनुमान गरिएको छ, अझ पूँजीगत खर्च त २–३ खर्बको मात्रै हुने देखिन्छ ।’

