काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकले चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार बैंकको नाफामा सुधार आएको देखिएको छ ।
बैंकले चैत मसान्तसम्मको अवधिमा ९ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३५.४१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकको खुद नाफा ६ करोड ८२ लाख रुपैयाँ थियो ।
यद्यपी यो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १९ करोड ३४ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी ३१.४३ प्रतिशतले घट्दै १३ करोड २६ लाख रुपैयाँमा सीमित बनेको छ ।
बैंकको अन्य सञ्चालन आम्दानी भने बढेको छ । अन्य सञ्चालन आम्दानी ५८ लाख ९० हजार रुपैयाँबाट बढेर ७ करोड १४ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकको खुद सञ्चालन आम्दानी पनि १८ करोड २त्५ लाख रुपैयाँबाट बढेर २२ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
१ अर्ब २१ करोड रुपैयाँ चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ १० करोड ८३ लाख र रिजर्भको आकार ३५ करोड ४२ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकले खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवमा २.६३ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ०.७८ प्रतिशतमा सीमित बनेको छ ।
बैंकको वितरणयोग्य मुनाफा १० करोड ८३ लाख रुपैयाँ र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १०.६५ रुपैयाँ रहेको छ । अघिल्लो आवमा बैंकको वितरणयोग्य मुनाफा ५ करोड ४० लाख रुपैयाँ र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ५.७६ रुपैयाँ कायम थियो ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१०.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६०.११ गुणा र तरलता अनुपात ४२.३६ प्रतिशत कायम भएको छ ।