काठमाण्डौ । हाल नेप्सेमा सूचिकृत भएका ९२ वटा ब्रोकरहरु मध्य अझै ३० वटा ब्रोकरहरुले धितोपत्र बोर्डले तोकेको पूँजी पुर्याउन बाँकी रहेको छ । पछिल्लोपटक पूँजी पुर्याउन बाँकी रहेका ३८ वटा पुराना ब्रोकरहरुमध्ये ८ वटा ब्रोकरहरुले हालैमात्रै तोकिएको पूँजी पुर्याएका छन् ।
बाँकी रहेका ब्रोकरहरुलाई पूँजी बढाउन दिइएको समय सीमा आगामी असारमा सकिदै छ । यसैबीच ब्रोकरहरुले समय थप गर्न माग गरिरहेका छन् । स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालले अर्थ मन्त्रालय २ वर्षको लागि समय थप्न सकारात्मक रहेको जानकारी दिए । ढकालका अनुसार यस विषयमा एकपटक अध्यादेश आइसकेका कारण अब मन्त्रीस्तरिय निर्णयबाट नै समय थप हुन सक्ने छ ।
धितोपत्र दलाल व्यबसायीहरुले धितोपत्र बोर्डले तोकेको २० करोडको चूक्तापूँजी पुर्याउनु पर्ने हुन्छ । सेबोनले २०७९ साल भदौमा सबै ब्रोकरहरुलाई न्यूनतम २० करोड पूँजी पुर्याउन भनेको थियो । तर ब्रोकरहरुले भने मर्जरको बिकल्प समेत माग गरेर समय थप गर्न माग गरेका थिए । हाल ब्रोकरहरुले धितोपत्र बोर्डले समयमा नै मर्जरको निर्देशिका नल्याएका कारण आफूहरुले समयमै मर्जरको प्रक्रिया टुङ्ग्याउन नसक्ने बताउँदै आएका छन् ।
तथापी बोर्डका केही अधिकारीहरु भने ब्रोकहरुलाई पूँजी पुर्याउन समय थप गर्ने मनसायमा नरहेको बताउँदै आएका थिए । यसैबीच अर्थ मन्त्रालय भने यस विषयमा सकारात्मक देखिएको छ ।
हाल धितोपत्र बोर्डले सीमित कार्य गर्नेको हकमा २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरहरुको हकमा ६० करोड र स्टक डिलरको लागि १ अर्ब ५० करोड पूँजी तोकेको छ । जसअन्तगर्त अब पुराना ३० वटा ब्रोकरले सीमित कार्य गर्नको लागि मात्रै धितोपत्र बोर्डले तोकेको २० करोड चुक्तापूँजी पुर्याउन बाँकी छ ।