काठमाण्डौ । एनआइसी एशिया क्यापिटल लिमिटेड दुईवटा खुलामुखी योजना ल्याउने पहिलो मर्चेण्ट बैंक बन्ने भएको छ । हाल सीमित मर्चेण्ट बैंकरहरुले मात्रै खुलामुखी योजना सञ्चालन गरिरहेकोमा एनआइसी एशिया क्यापिटलले भने दुईवटा खु्लामुखी योजना सञ्चालन गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले असार ३ गतेमात्रै एनआइसी एशिया क्यापिटलको खुलामुखी योजना ‘एनआइसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’को इकाई बिक्री खुला गर्न अनुमति दिएको छ ।
क्यापिटलले १० रुपैयाँ अंकित दरको १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाई बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो । यो खुलामुखी योजनाको इकाई बिक्री भएपश्चात् क्यापिटलबाट दुईवटा खुलामुखी योजना सञ्चालित हुनेछन् ।
एनआइसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्मेन्ट स्किम क्यापिटलको दोस्रो खुलामुखी योजना हुनेछ । यसअघि क्यापिटलको ‘एनआइसी एशिया डायनामिक डेब्ट फण्ड’ सञ्चालनमा आइसकेको छ ।
क्यापिटलले दुईवटा खुलामुखी योजना सञ्चालनमा ल्याउन लागेपनि यो दुई योजना एकआपसमा फरक रहने क्यापिटलका सीओओ प्रज्ञ रत्न शाक्यले बताए ।
‘धितोपत्र बोर्डबाट हिजो मात्रै एनआइसी एशिया क्यापिटलको अर्को खुलामुखी योजना सार्वजनिक निष्कासनको लागि स्वीकृत भएको छ, यसअघि हामीले खुलामुखी अन्तर्गतकै एनआइसी एशिया डायनामिक डेब्ट फण्ड सञ्चालनमा ल्याइसकेका छौं’ उनले भने, ‘क्यापिटलको दुईवटा खुलामुखी योजना भएपनि यी दुबै एकआपसमा भने फरक खालका फण्ड हुनेछन् ।’
एनआइसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम विशेषत इक्विटी बेस्ड खुलामुखी योजना रहेको शाक्यले बताए । ‘यो योजना इक्विटी बेस्ड म्युचुअल फण्ड हो, यसले लगानीकर्ताबाट संकलित फण्डलाई इक्विटीमा बढी लगानी गरी उचित प्रतिफल दिनेछ’ उनले भने, ‘यसअघिको हाम्रो डायनामिक डेब्ट फण्ड भने रिजर्भ वेस्ड फण्ड हो, जसले इक्विटीसँगै निक्षेप र ऋणपत्र तथा डिबेञ्चरहरुमा समेत लगानी गर्दछ ।’
इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा लगानी गर्दा लगानीकर्तालाई अझ बढी फाइदा हुन सक्ने शाक्यको भनाई छ । ‘यो योजना इक्विटीमा आधारित भएकाले बजार माथि जाँदा इक्विटी राम्रो भएर लगानीकर्तालाई फाइदा हुने चान्स बढी हुन्छ’ उनले भने, ‘म्युचुअल फण्डहरुमा लगानी गर्ने भनेकै लङ टर्मका लागि हो, आगामी दिनमा बजार राम्रो हुने देखिन्छ, यस हिसाबले पनि यो योजनामा लगानी गर्नु उपयुक्त मानिन्छ ।’
शाक्यका अनुसार एनआइसी एशिया क्यापिटलको यसअघिको डायनामिक डेब्ट फण्डले मुख्यगरी फिक्स्ड डिपोजिट र ऋणपत्र तथा डिबेञ्चरमा लगानी गर्दछ, भने भर्खरै अनुमति पाएको इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमले सेयरबजारमा बढी फोकस गर्नेछ ।
हाल संचालनमा रहेका खुलामुखी सामुहिक लगानी कोष योजना मध्ये हरेक वर्ष लाभांश दिनेमा क्यापिटलले संचालन गरेको एनआईसी एशिया डायनामिक डेट फण्ड मात्र रहेको छ ।
एनआईसीको यो डेप्ट फण्डले आव २०७७/७८ देखि आव २०८०/८१ सम्म हरेक वर्ष लाभांश दिएको छ । आर्थिक वर्ष २०७८/७९ मा बाहेक फण्डले हरेक वर्ष दोहोरो अंकको प्रतिफल दिएको छ । यस फण्डले आव २०७७/७८ मा १० प्रतिशत, आव २०७८/७९ मा ६ प्रतिशत र त्यसपछिका दुई आवमा समान १०/१० प्रतिशत लाभांश दिएको छ । फण्डको ४ वर्षको औसत प्रतिफल ९ प्रतिशत रहेको छ ।
क्यापिटलको नयाँ सञ्चालन हुन लागेको इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम इक्विटी बेस्ड योजना भएकाले बजारमा लगानी गरेबमोजिम राम्रो भएअनुसार लगानीकर्तालाई रिटर्न दिइने शाक्यले बताए ।
साथै अब केही दिनमा नै यस नयाँ योजनाको सार्वजनिक निष्कासनको लागि मिति पनि तय गरिने उनले बताए ।