काठमाण्डौ । पूँजी बजार मुख्यतः २ वटा विषय बिना चल्न सक्दैन । एउटा हो सेटलमेन्ट ग्यारेन्टी फण्ड र दोस्रो हो अक्सन मार्केट । सेयर कारोबारमा मुख्य विषय भनेको किन्नेले सेयर पाउने र बेच्नेले पैसा पाउन भन्ने हो । यी २ वटै विषयको निश्चितताका लागि सेटलमेन्ट ग्यारेन्टी फण्ड र अक्सन मार्केटको व्यवस्था हुने गर्छ । केही गरी ग्राहकले भुक्तानी ढिला गरेमा सेटलमेन्ट ग्यारेन्टी फण्डबाट भुक्तानी हुन्छ ।
सेयर हस्तान्तरण हुन नसकेको अवस्थामा अक्सन बजारबाट खरिद गरेर सेयर दिने प्रचलन विश्व बजारमा रहेको छ । विश्व सेयर बजारमा यी २ व्यवस्था बिना सेयर बजार नै सञ्चालन हुन सक्दैन । सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ तर नेपालको सेयर बजारमा ३१ वर्षदेखि यी दुवै व्यवस्था बिना पनि सेयर बजार चलेको छ ।
यसबाट लगानीकर्ता र ब्रोकर दवैै समस्यामा पर्दै आएको देखिन्छ । ग्यारेन्टेड फण्ड नहुँदा ब्रोकरहरु समस्यामा परेको देखिन्छ भने अक्सन बजार नहुँदा लगानीकर्ताहरुले केही गरि झुक्किएर सेयर बेचेको खण्डमा हरेक वर्ष दशौं करोड क्लोजआउट बापतको जरिवाना तिर्दै आएका छन् ।
किन आउन सकेनन् यी २ व्यवस्था नेपालमा ?
नेपालको पूँजीबजारको औपचारिक सुरुवात २०५० साल माघ २९ गतेदेखि भएको हो । यस हिसाबले नेपालको पूँजीबजारको इतिहास ३१ वर्ष भन्दा बढी भएको छ । तर धितोपत्र बोर्ड र नेप्सेमा जो आएता पनि सतही विषय बाहेक पूँजीबजारको मेरुदण्डको विकासमा खासै कसैको ध्यान गएको देखिदैन ।
सेटलमेन्ट ग्यारेन्टी फण्डको विषयमा नेप्से, सेबोन र धितोपत्र बोर्डको आफ्नै तर्क रहेका छन् । तर अनौठो विषय के रहेको छ भने यी तिनै निकायले एक अर्कालाई दोष लगाउने बाहेक खासै काम गर्न सकेका छैनन् । ब्रोकरहरुले यी विषय नियामक निकायले नसुनेको तर्क गर्दै आएका छन् । तर नियामक निकायले भने ब्रोकरहरुले नै प्यान सहितको संस्था दर्ता गर्न नसको तर्क गर्दै आएका छन् ।
हाल ब्रोकरहरुसँग ९ करोडबराबर फण्ड रहेको छ । तर यो फण्ड हालसम्म प्रयोग हुन सकेको छैन । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीेले ब्रोकरहरुले प्यान सहितको संस्था दर्ता गर्न नसकेका कारण फण्डको प्रयोग हुन नसकेको बताउँछन् । उनका अनुसार यस्तो हुनु दोस्रो कारणमा यो फण्डको अकार हो । यसमा नेप्सेको सीईओ संयोजक सहित सीडीएससी र ब्रोकर प्रतिनिधि हुने गर्छन ।
सबैभन्दा पहिले कर कार्यालयले चिन्ने गरि दर्ता हुन नसकेको कारण नै हाल सेटलमेन्ट ग्यारेन्टी फण्ड प्रयोग हुन नसकेको तर यसमा धितोपत्र बोर्ड, नेप्से र ब्रोकर सबैबराबर हिस्सेदार भएको उनको तर्क छ । अर्को एक स्रोतले दिएको जानकारी अनुसार ब्रोकरहरुले योगदान कम गरेर नियामकलाई पैसा हाल्न भने पछि यो विषय अलपत्र परेको हो ।
जसमा धितोपत्र बोर्डले ५० करोड , नेप्सेले ३० करोड र ब्रोकरहरुले २० करोड हाल्ने गरि भीष्म राज ढुङ्गाना अध्यक्ष हुँदा बोर्डबाट पत्र आएको तर अर्थ मन्त्रालयले अस्वीकार गरेपछि सेटलमेन्ट ग्यारेन्टी फण्ड अलपत्र परेको छ । त्यसैगरि अक्सन बजारको विषयमा पनि सीडीएसीले कार्यविधि बनाएर पठाएकोमा धितोपत्र बोर्डमा नै अल्झेको छ । यसरी तीन निकायको विवादका कारण नेपालको सेयर बजार अपरिपक्क तरिकाले चलेको देखिन्छ । जसको मार लगानीकर्ताले खेप्दै आएका छन् ।