काठमाण्डौ । रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि साउन २६ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुने छन् ।
साउन २३ र २४ गते शुक्रबार र शनिबार भएकाले नियमित सेयर कारोबार हुनेछैन । यस्तै साउन २५ गते पनि गाईजात्राको अवसरमा काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा परेकाले सेयर बजार बन्द रहनेछ । यही कारण कम्पनीले जारी गर्ने शतप्रतिशत हकप्रद पाउन आजसम्म सेयरधनी बन्नु पर्नेछ ।
कम्पनीले शतप्रतिशत अर्थात ७० करोड रुपैयाँबराबरको रु।१०० अंकित दरका कुल ७० लाख कित्ता हकप्रद जारी गर्नेछ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासन गर्न गत साउन ९ गते अनुमति प्राप्त गरेको थियो । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।