काठमाण्डौ । ‘रिडिफाइनिङ सक्सेस’ भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ४ दिने ब्रान्च मेनेजर्स एनुअलकन्फ्रेन्स धुलिखेलस्थित होटल दुषित थानी हिमालयन रिसोर्टमा सम्पन्न गरेको छ ।
आव २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसायसँग सम्वन्धित वर्तमान पाटो बारे विवेचना गरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उद्देश्यले कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको कम्पनीले जनाएको छ ।
सो सम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जनाभन्दा बढिको सहभागिता रहेको थियो । सम्मेलनको समुद्घाटन गर्दै अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले जीवन बीमा व्यवसाय प्रतिष्पर्धात्मक हुँदै गईरहेको स्थितीमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्वलाई आत्मसात गरी तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्ने सबै शाखाहरुलाई तथा सबैको सामूहिक प्रयासबाट उच्च व्यवसाय संकलन गर्न सफल भएकोमा सम्पुण शाखा तथा केन्द्रिय कार्यालयका कर्मचारीहरुलाई बधाई ज्ञापन गरिन् । साथै, आगामी दिनहरुमा पनि सबैको अधिकतम प्रयासले कम्पनीको उचाईलाई थप बृद्धि गर्ने विश्वास व्यक्त गरिन् ।
सम्मेलनमा सहभागि भएका कर्मचारीहरलाई व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै चर्चित व्यक्तित्व अनिल केशरी शाहले नेतृत्व विकास सम्बन्धमा उत्प्रेरणा तालिम प्रदान गरेका थिए । यसैगरी नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदम प्रसाद सोडारीले सम्पती शुद्धिकरण सम्वन्धमा प्रशिक्षण प्रदान गर्दै बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्ने कार्य बढ्दै गएकोले यस तर्फ सचेत रहन आग्रह गरे ।
सांगितिक प्रस्तुती तथा कर्मचारीहरु बिच टग अफवार, फुटसल प्रतियोगिता जस्ता मनोरन्जनात्मक कार्यक्रमहरु समावेश गरिएको सो सम्मेलनमा आ.व. २०८१/८२ मा उत्कृष्ट ठहरिएका शाखा कार्यालयहरु लगाएत बार्षिक लक्ष्य पुरा गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान तथा पुरस्कृत गरेका थिए ।