काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको अन्त्यसम्म २ अर्ब १४ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीको यो बीमाशुल्क रकम अघिल्लो आवको तुलनामा ७ प्रतिशतले बढी हो । अघिल्लो आवको अन्त्यसम्म कम्पनीले २ अर्ब ६ करोड १४ रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
गत आवमा व्यवसाय बढाएको यो कम्पनीको जीवन बीमा कोषको आकार १३.८० प्रतिशतले बढाएको छ । अघिल्लो आवमा ७९ अर्ब १ करोड २८ लाख रुपैयाँ बीमा कोषमा सञ्चित गरेको नेशनल लाइफले गत आवमा ८९ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ सञ्चित गर्न सफल भएको छ । कम्पनीको महाविपत्ती कोषको आकार समेत ७ प्रतिशतले बढेको छ । गत आवको अन्त्यसम्म कम्पनीको महाविपत्ती कोषमा ६६ करोड ७२ लाख रुपैयाँ संचित रहेको छ ।
अघिल्लो आवमा भने कम्पनीको यस्तो कोषमा ६२ करोड ३५ लाख रुपैयाँ संचित गरेको थियो । कम्पनीले बीमा कोष तथा महाविपत्ती कोषको आकार बढाउँदै मजबुत बनेको छ । भविष्यमा हुन सक्ने जोखिम बहनका लागि कम्पनीले यस्ता कोषको आकार बढाएको देखिन्छ । यता रिटेन्ड अर्निङ भने घटेर ५१ करोड एक लाख रुपैयाँमा सीमित बनेको छ । साथै कम्पनीको दाबी भुक्तानीको अवस्था हेर्दा कम्पनी बीमितमैत्री बन्दै गएको देखिन्छ ।
अघिल्लो आवमा ८ अर्ब ३२ करोड ८२ लाख रुपैयाँको दाबी भुक्तानी दिएको यो कम्पनीले गत आवमा भने ३२.९४ प्रतिशत बढाएर ११ अर्ब ७ करोड १२ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी दिएको छ । सो अवधिसम्म कम्पनीको नाफामा संकुचन देखिएप्नि कर्जा लगानी आम्दानी र कुल आम्दानी बढेको छ । कम्पनीको नाफा अघिल्लो आवको तुलनामा ५६.२२ प्रतिशत घटेर ४१ करोड २८ लाख रुपैयाँ सीमित भएको छ ।
यता कम्पनीको कर्जा लगानी आम्दानी ४.३८ प्रतिशत बढेर ५ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ र कुल आम्दानी ५.९६ प्रतिशत बढेर २८ अर्ब ६२ करोड ४६ लाख रुपैयाँ पुगेको छ । गत आवको अन्त्यसम्म कम्पनीको बीमालेख संख्या १५ लाख १९ हजार ७४५ रहेको छ भने कम्पनीको इपीएस ७.९२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२९.७२ रुपैयाँ रहेको छ ।