काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको वर्षबास म्युजियम होटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । साउन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा भदौ २३ गते काठमाण्डौको गैरीधारामा रहेको होटलमा बिहान १० बजे आयोजना हुनेछ । उक्त सभामा कम्पनीको आईपीओ निष्कासन प्रक्रियामा रहेका हुँदा नियामक निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही अनुसार गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र यससम्बन्धी सम्पूर्ण कार्य गर्ने अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
सभामा आर्थिक वर्ष २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै उक्त अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।
कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै २०८१ फागुन १९ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ३९ करोड ६० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ३९ लाख ६० हजार कित्ता आईपीओ निष्कासनको माग गरेको छ ।