काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर विश्वनाथ पौडेलको आवासका लागि घर दिन काठमाण्डौबासी तयार नदेखिएका पाइएको छ ।
राष्ट्रबैंकले खोजेजस्तो घर नपाइएको र घरधनीले पनि कुनै चासो नदिएपछि पुनः सूचना प्रकाशित गरी घर भाडा सम्बन्धी प्रस्ताव पेश गर्ने म्याद थपेको छ ।
सोमबार प्रकाशित सूचना अनुसार अब इच्छुकले २०८२ कात्तिक १६ गतेभित्र घर भाडाका लागि प्रस्ताव पेश गर्न सक्नेछ ।
यसअघि यस्तो प्रस्ताव गर्ने समयसीमा असोज २७ गतेसम्म तोकिएको थियो ।
जेन–जी आन्दोलनका क्रममा गभर्नर पौडेलको भैंसेपाटीस्थित घरमा तोडफोड तथा आगजनी गरिएको थियो । जसका कारण उनी घरविहीन बन्न पुगेका थिए । सो घटनालगत्तै पत्नी र छोरीलाई अमेरिका पठाएर उनी आफू भने थापाथलीस्थित केन्द्रीय बैंकको एउटा कोठामा राति सुत्ने गरेका छन् ।
राष्ट्रबैंकका अनुसार घर भाडामा दिनका लागि ललितपुर महानगरपालिकाको बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा अवस्थित कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गा भएको हुनुपर्नेछ । कम्तीमा ५ वटा कार/जीप पार्किङ गर्न मिल्ने, आर.सि.सि. स्ट्रक्चरसहित कम्तीमा १००० वर्ग फिट प्लिन्थ क्षेत्रमा निर्माण भएको घरको खोजी गरिएको छ ।
अन्य आवश्यकताहरूमा कम्तीमा एउटा मास्टर बेडरूम सहित ४ वटा बेडरूम, लिभिङ हल, किचेन, डाइनिङ हल तथा स्टोर रूम हुनुपर्ने, सुरक्षाकर्मी बस्ने छुट्टै भवनको व्यवस्था हुनुपर्नेछ ।
सुरक्षित कम्पाउन्डवाल भएको, कालोपत्रे सडकसँग जोडिएको तथा बिजुली, ढल निकास र खानेपानी लगायतका पूर्वाधारको यथोचित प्रबन्ध भएको २.५ तलादेखि ३ तलासम्मको घर भाडामा खोजिएको हो ।