काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल(ह्यात होटल) जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि बन्द भएको घटनाको प्रतिक्रिया सेयर बजारले समेत देखाएको छ ।
आइतबार कारोबार खुलेको केही मिनेटमै तारागाउँ रिजेन्सी होटलको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ ।
तारागाउँ रिजेन्सी होटल व्यवस्थापनले पुननिर्माण, असुरक्षा जस्ता कारण देखाउँदै तत्कालका लागि सेवा बन्दको सूचना कात्तिक २ गते नै टाँस गरेको थियो । सो विषय खबरहरुमा आएपछि यसले लगानीकर्ताको मनोबलमा समेत नकारात्मक प्रभाव पारेको देखिएको हो ।
जसका कारण टिआरएच संकेतबाट नेप्सेमा कारोबारमा रहेको तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य प्रतिकित्ता ७९.६० रुपैयाँले घटेर ७१६.४० रुपैयाँमा सीमित बन्न पुगेको हो । यो कम्पनीको सेयर किन्ने कोही नदेखिँदा साना साना कित्ताहरु बिक्रीतर्फ राखिएकै अवस्थामा नेगेटिभ सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म बिक्रीतर्फ ९९४ कित्ता मात्र रहेको छ ।

