काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बिहीबार बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको गौरवपूर्ण यात्रामा साथ दिने सम्पूर्ण सरोकारवाला व्यक्ति र निकायलाई धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा सांग्रिला डेभलपमेन्ट बैंक अझबलियो भएर अघि बढ्ने विश्वास ब्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अहिलेसम्मको यात्रामा साथ दिने सबै सञ्चालक समितिका पदाधिकारी, कर्मचारी, ग्राहक, नियमनकारी निकाय तथा सेयरधनीलाई धन्यवाद ज्ञापन गरे । उनले यो लामो सम्बन्धलाई अझ उत्कृष्ट आधुनिक र स्मार्ट सेवाका साथ आगामी दिनमा अझ प्रगाढ र सुमधुर बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।
वार्षिकोत्वसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले ‘बाँड्दै न्यानोपन जोड्दै आफ्नोपन’ अभियान घोषणा गरेको छ । लिड फर नेपाल नामक संस्थासँगको सहकार्यमा सञ्चालन गरिने यस अभियानअन्तर्गत बैंकका १० वटा क्लस्टर मार्फत न्यानो कपडा संकलन गरी इलामका बाढीपहिरो प्रभावित नागरिकलाई प्रदान गरिने छ । यो अभियानमा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट पनि ज्याकेट लगायत न्यानो कपडा उपलब्ध गराइने छ ।
यसैगरि, वार्षिकोत्वसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकमा सेवाको ५, १० र १५ वर्ष पूरा गरेका २० जना कर्मचारीलाई सम्मान गरिएको थियो ।
साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आईरहेको छ ।

