पूर्वी इङ्गल्यान्डमा एक रेलमा कैयौँलाई छुरा प्रहार भएको घटनापछि ब्रिटिश प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
क्याम्ब्रिजशरको हन्टिङ्डन स्टेसनमा यात्रुहरूले चालक दललाई सचेत गराएपछि रेललाई आपत्कालीन रूपमा रोक्दै प्रहरी बोलाइएको थियो।
प्रत्यक्षदर्शीहरूले सो घटनाबारे बताउने क्रममा रगतले लतपतिएका पीडितहरू ठूलो चक्कु बोकेको मानिसबाट बच्न भागिरहेको र केही यात्रुहरू शौचालयमा लुकेको बताएका छन्।
प्रहरीले १० जनालाई अस्पताल पुर्याइएको बताउँदै तीमध्ये नौ जनालाई ज्यान जोखिममा पार्ने चोट लागेको उल्लेख छ।
ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरले त्यसलाई भयानक घटना भनेका छन्।
प्रहरीले पीडित र पक्राउ गरिएका व्यक्तिहरूको पहिचान केही खुलाएको छैन।
उक्त क्षेत्रका सबै रेल सेवाहरू रोकिएका छन्।
लन्डन नर्थ इस्टर्न रेलवेले यात्रुहरूलाई रेल यात्रा स्थगित गर्न आग्रह गर्दै आइतबार दिनभरी जसो सेवा रोकिन सक्ने अनुमान गरिएको जनाएको छ।
'ठूलो घटना'
प्रहरीले त्यसलाई "ठूलो घटना" घोषणा गर्दै प्रतिआतङ्कवाद अधिकारीहरूले अनुसन्धानलाई सहयोग गर्ने पुष्टि गरेको छ।
रेलमा रहेका एक प्रत्यक्षदर्शीले एक घाइते मानिस "कसैसँग चक्कु छ" भनेर चिच्याउँदै उनीतिर दौडेको क्षणको सम्झना गरेकी छन्।
पछि रेल प्लेटफर्ममा ठूलो चक्कु बोकेका एकजना मानिसलाई देखिएको अर्का एकजना प्रत्यक्षदर्शीले स्काईन्यूजलाई बताएका थिए।
उनका अनुसार त्यहाँ प्रहरीले उनीतिर हतियार तेर्साइरहेको देखिएको थियो। त्यसपछि ती मानिसलाई बलपूर्वक नियन्त्रणमा लिइएको थियो।
एक ज्येष्ठ उमेरका पुरुषले हमलाकारीलाई एउटी सानी बालिकालाई छुरा प्रहार गर्नबाट रोकेको र त्यसक्रममा उनको टाउको र घाँटीमा चोट लागेको अर्का प्रत्यक्षदर्शीको बयान छ।
उनको वरिपरि रहेका यात्रुहरूले रक्तस्राव रोक्न आफ्नो ज्याकेट प्रयोग गरेका थिए।
सरकारी तथ्याङ्कअनुसार ब्रिटेनमा सन् २०११ देखि छुरा प्रहारका अपराध "निरन्तर" बढिरहेको पाइन्छ।
प्रधानमन्त्री स्टार्मरले यसलाई "राष्ट्रिय सङ्कट" को रूपमा प्रस्तुत गर्दै आएका थिए।
गत वर्ष व्यापक सरकारी कारबाहीका क्रममा प्रहरीले ६० हजार चक्कुहरू आफूलाई बुझाइएको वा जफत गरिएको जनाएको थियो।
यूकेमा सार्वजनिक रूपमा चक्कु बोक्दा चार वर्षसम्मको जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ।
-बीबीसीबाट साभार

