काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमीटेड पहिलो त्रैमासमा घाटाबाट बौरिँदै नाफा कमाउन सफल भएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा यो लघुवित्त वित्तीय संस्थालेम ३ करोड १४ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनी ७ करोड १० लाख बढी खूद घाटामा थियो ।
गत वर्ष ७ करोड १० लाख रुपैयाँ घाटामा रहेको कम्पनी यस वर्ष ३ करोड १४ लाख ७७ हजार रुपैयाँ नाफामा पुगेको छ। एक वर्षको अवधिमा कम्पनीले करिब १४४ प्रतिशत सुधार गर्दै घाटाबाट नाफातर्फको उल्लेखनीय मोड लिएको छ। वित्तीय नतिजा सकारात्मक बन्दा कम्पनीको समग्र अवस्था मजबुत हुँदै गएको देखिन्छ।
४९ करोड ७४ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको पहिलो त्रैमासमै वितरणयोग्य मुनाफा १० करोड २९ लाख पुगेको छ । कम्पनी नाफामा गएका कारण पहिलो त्रैमासको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) २५ रुपैयाँ ३१ पैसाको उचाईमा पुगेको छ ।
यो कम्पनीले गत वर्षको यही अवधिमा ११.३५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटाएर १०.८१ प्रतिशत झार्दा त्यसले समेत ब्यालेन्ससिट सुधारमा काम गरेको देखिन्छ ।
बैंकले अघिल्लो वर्षको यही अवधिसम्म कर्जा तथा अन्य सम्भावित जोखिम व्यवस्थापनका लागि ८ करोड ४४ लाख इम्प्येरमेन्ट चार्जको रुपमा छुट्याएकोमा समीक्षा अवधिमा भने ३३ लाख हाराहारीमा मात्र छुट्याएको छ ।
इन्फिनिटीको खूद ब्याज आम्दानी पनि बढेको देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म करिब ६ करोड रुपैयाँ रहेकोमा यो वर्ष बढेर १० करोड ५२ लाख माथि पुगेको छ ।
समीक्षा अवधिमा यो कम्पनीको सञ्चालन नाफा ४ करोड ४३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिमा भने ७ करोड १० लाख सञ्चालन घाटामा थियो ।
यो अवधिसम्म कम्पनीले १ अर्ब ३९ करोड बढी निक्षेप संकलन तथा ३ अर्ब ७१ करोड बढी सापटी लिएर ५ अर्ब ९० करोड बढी कर्जा परिचालन गरेको छ । गत वर्षको तुलनामा निक्षेप संकलन तथा सापटी केही घटेको देखिन्छ । कर्जा प्रवाह चाहिँ बढेको देखिएको छ ।
समीक्षा अवधिका लागि यो कम्पनीको प्रतिसेयर नेटवर्थ १६२.९६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२७१.६४ रुपैयाँ, तरलता अनुपात ८.३८ प्रतिशत, पूँजीकोष अनुपात ११.४४ प्रतिशत र मूल्य आम्दानी अनुपात ४३.९५ गुणा कायम भएको छ ।

