काठमाण्डौ । केही समयअघि मात्र नेपाल राष्टबैंकको कारबाहीमा परेको र पछिल्लो समय बैंकका कमजोरीहरु छोपछाप गर्नतर्फ लागेको लुम्बिनी विकास बैंकको पछिल्लो अवस्थामा सुधार नहुने हो भने यो संस्था डूब्ने बाटोतर्फ अगाडि बढेको देखिएको छ ।
खराब कर्जा गत वर्षको तुलनामा अत्यधिक बढेर थलिने अवस्थामा पुगेको छ भने यसको सोझो प्रभाव बैंकको नाफामा देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक करिब ३५ करोड खूद घाटामा गएको छ ।
अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म बैंक २० करोड १९ लाख बढी नाफामा थियो ।
घाटा अत्यधिक बढेसँगै वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि ९ रुपैयाँ ६२ पैसाले ऋणात्मक बन्न पुगेको छ ।
अघिल्लो वर्ष २९ करोड ३५ लाख बढी सञ्चालन मुनाफा गरेको यो बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ३४ करोड २९ लाख बढी सञ्चालन घाटा व्यहोरेको छ ।
अघिल्लो वर्षको यही अवधिमा ३.६९ प्रतिशतमा सीमित खराब कर्जा अनुपात बढेर ७.७८ प्रतिशत पुगेको छ । यसरी खराब कर्जा गत वर्षको तुलनामा १११ प्रतिशतले बढेको देखिएको हो । यहीकारण इम्पेयरमेन्ट चार्ज मात्र बढेर ७० करोड ८९ लाख पुगेको छ । अघिल्लो वर्ष कर्जा तथा सम्भावित जोखिम व्यवस्थापनका लागि बैंकले ५ करोड २४ लाख हाराहारी मात्रै इम्पेयरमेन्ट चार्जमा पैसा राख्नुपरेको थियो ।
लुम्बिनी विकास बैंकको उच्च व्यवस्थापन रिकभरिमा असफल देखिँदा त्यसको प्रभाव नाफा, इपीएसमा त देखिएको छ नै, खूद ब्याज आम्दानी पनि अघिल्लो वर्षको ४५ करोड ९८ लाखबाट घटेर ४५ करोड ३८ लाखमा झरेको छ ।
बैंक घाटामा गएपछि रिटर्न अन इक्वीटी २०.६५ प्रतिशतले नेगेटिभ बन्न पुगेको छ, जुन अघिल्लो वर्षको यही अवधिमा ११.७१ प्रतिशतले धनात्मक थियो । रिटर्न अन एसेट पनि २.०८ प्रतिशतले नेगेटिभ बनेको छ, जुन अघिल्लो वर्ष यही अवधिसम्म २.३८ प्रतिशतले धनात्मक थियो ।
बैंकको रिटर्न अन टोटल एसेट पनि ०.५३ प्रतिशतले ऋणात्मक बनेको छ भने मूल्य आम्दानी अनुपात पनि ४६.१५ गुणाले ऋणात्मक बनेको छ ।
अघिल्लो वर्षको पहिलो त्रैमाससम्म करिब ३१ करोड रहेको वितरणयोग्य मुनाफा यो वर्ष १७ करोड ३४ लाखले ऋणात्मक बनेको छ ।
यो बैंकको निक्षेप तथा कर्जा पनि घट्दै गएको देखिएको छ, जुन राम्रो संकेत होइन । समीक्षा अवधिसम्म ५६ अर्ब १४ करोड निक्षेप संकलन गरी ४६ अर्ब ५७ करोड बढी कर्जा परिचालन गरेको देखिएको छ । जबकि अघिल्लो वर्षको यही अवधिसम्म यो बैंकले ५७ अर्ब ५९ करोड बढी निक्षेप संकलन गरी ४७ अर्ब १३ करोड बढी कर्जा परिचालन गरेको थियो ।

