काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ६ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा निर्धन उत्थान लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, चिलिमे जलविद्युत कम्पनी, अपर हेवाखोला हाईड्रोपावर,महुली लघुवित्त र नेशनल लाइफको सेयरमूल्य समायोजन भएको हो । यी सबै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपश्चात निर्धन उत्थान लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ७१०.४८ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता ७४६ रुपैयाँ कायम थियो । संस्थाले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट २०८२ असार मसान्तसम्म कायम चुक्तापूँजी २ अर्ब ६१ करोड २० लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
यस्तै महुली लघुवित्तले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता १ हजार २७९.१४ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता १ हजार ३३९.९० रुपैयाँ कायम थियो । संस्थाले आव २०८१/८२ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता १ हजार ११९.९६ रुपैयाँ निर्धारण भएको छ । बैंकले गत आवसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ८.४६२७४ प्रतिशत लाभांशको प्रदान गर्ने निर्णय गरेको छ ।
चिलिमे जलविद्युत कम्पनीको ८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । जसपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४६९.३५ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५०६.९० रुपैयाँ कायम थियो ।
अपर हेवाखोला हाईड्रोपावरको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ५२४ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६२४ रुपैयाँ कायम थियो । कम्पनीले आव २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रदान गर्ने घोषणा गरेको छ ।
नेशनल लाइफको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ५८१.७३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६०५ रुपैयाँ कायम थियो ।
आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा यी सबै कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

