काठमाण्डौ। आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत रहेको थियो, जसले चालु वर्षमा मूल्यवृद्धि उल्लेखनीय रूपमा न्यून रहेको देखाउँछ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.९९ प्रतिशत र ३.९२ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनाको औसत मुद्रास्फीति १.५५ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा औसत मुद्रास्फीति ४.८९ प्रतिशत रहेको थियो ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.५२ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.५६ प्रतिशत तथा दुग्ध पदार्थ तथा अण्डाको २.४४ प्रतिशतले वृद्धि भएको छ । यद्यपि तरकारी उप–समूहको मूल्य सूचकाङ्क ८.५४ प्रतिशत, मरमसलाको ८.४३ प्रतिशत तथा दाल तथा गेडागुडीको ५.७९ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको मूल्य सूचकाङ्क १८.५६ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले वृद्धि भएको छ । बीमा तथा वित्तीय सेवा उप–समूहको मूल्य सूचकाङ्क भने ०.२३ प्रतिशतले घटेको छ ।
क्षेत्रगत रूपमा समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.०९ प्रतिशतले र सहरी क्षेत्रको १.८३ प्रतिशतले वृद्धि भएको छ ।
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा २।५४ प्रतिशत, मधेश प्रदेशमा २.०१ प्रतिशत, बागमती प्रदेशमा १.४८ प्रतिशत, गण्डकी प्रदेशमा १.०८ प्रतिशत, लुम्बिनी प्रदेशमा १.६७ प्रतिशत, कर्णाली प्रदेशमा १.०९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ०.४० प्रतिशत उपभोक्ता मुद्रास्फीति रहेको छ ।
भौगोलिक क्षेत्रका आधारमा काठमाडौं उपत्यकामा १.९५ प्रतिशत, तराईमा १.७१ प्रतिशत, पहाडमा १.३६ प्रतिशत र हिमाली क्षेत्रमा १.४७ प्रतिशत उपभोक्ता मुद्रास्फीति रहेको छ ।

