काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्यमा लगातार उछाल आइरहेको छ । आज पनि यो क्रमले निरन्तरता पाएको छ ।
अन्तराष्ट्रिय बजार खुलेलगत्तै आज चाँदीको मूल्यमा ६.३७ प्रतिशतको उछाल आएको छ । योसँगै चाँदीको मूल्य प्रति ट्रोय औंस ९२ डलरको ऐतिहासिक उचाईमा पुगेको छ ।
चाँदीको मूल्य पछिल्लो एक महिनामा ३६.२१ प्रतिशतको उछाल आइसकेको देखिएको छ । यस्तै पछिल्लो ६ महिनामा चाँदीको मूल्य १२९ प्रतिशत तथा एक वर्षमा १८२ प्रतिशतको उछाल आइसकेको छ ।
विज्ञहरुले चाँदीको बढ्दो विश्वव्यापी प्रयोगसँगै यसको मूल्य अझै माथि पुग्ने प्रक्षेपण गरिरहेको समयमा मूल्यमा दैनिक नयाँ रेकर्ड बनिरहँदा यो क्रमले अझै निकै ठूलो उचाई चुम्ने सम्भावना देखिन्छ ।
यसैबीच, अन्तराष्ट्रिय बजारमा सुनको मूल्य पनि निरन्तर बढिरहेको छ । पछिल्लो २४ घण्टामा सुनको मूल्य प्रति औंस ४१ डलरले बढेर ४६३३ डलरको ऐतिहासिक उचाईमा पुगेको छ ।
सुनको मूल्य पछिल्लो एक महिनामा करिब ७ प्रतिशत, ६ महिनामा ३८ प्रतिशत तथा पछिल्लो एक वर्षमा ७०.४१ प्रतिशतको बढोत्तरी भइसकेको छ ।

