काठमाण्डौ । ईरानले संयुक्त अरब एमिरेट्स (यूएई) लाई कडा चेतावनी दिएको छ। यदि अमेरिकाले ईरानविरुद्ध स्थल (ग्राउन्ड) आक्रमण वा आइल्यान्ड कब्जा गर्ने प्रयास गरेमा यूएईलाई मुख्य लक्ष्य बनाएर आर्थिक, सरकारी तथा पूर्वाधारलाई पूरै ध्वस्त पार्ने बताएको छ।
ईरानी उच्च अधिकारीहरूले भनेका छन् कि यूएईले अमेरिका र इजरायललाई आफ्नो सैन्य अड्डा, एयर बेस र एआई प्रविधिसमेत उपलब्ध गराएर सक्रिय सहयोग गरिरहेको छ। यदि यूएईको भूमिबाट अमेरिकी सेना ईरान प्रवेश गरेमा प्रतिक्रिया केवल सैन्य लक्ष्यमा मात्र सीमित नरहने र यूएईका सरकारी संस्था, लगानी परियोजना तथा अर्थव्यवस्थालाई पनि निशाना बनाइने चेतावनी दिइएको छ।
मिडल इस्ट आईलाई उद्धृत गर्दै आइटकले लेखेको छ-ईरानले यूएईलाई “पहिलो लक्ष्य” बनाउने र आक्रमण “उस्तै स्तरको” हुने स्पष्ट पारेको छ। यो ईरानको “अन्तिम चेतावनी” को रूपमा हेरिएको छ।
यो चेतावनी यस्तो बेला आएको हो जब अमेरिका ईरानका सामुद्रिक टापुहरू (जस्तै खार्ग र किश्म) कब्जा गर्ने तयारी गरिरहेको खबरहरू आएका छन्। यस्ता अपरेसनका लागि खाडी देशका बेस प्रयोग हुन सक्ने आशंकाले ईरान थप आक्रामक बनेको देखिन्छ।
यो द्वन्द्व अहिले ३५ औं दिनमा पुगेको छ। पछिल्लो २४ घण्टामा ईरानले दुई अमेरिकी लडाकु विमान खसालेको दाबी गरेको छ। यसअघि पनि ईरानले यूएई लगायत खाडी देशमा रहेका अमेरिकी अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो।
यूएई पक्षबाट यस चेतावनीमा कुनै औपचारिक प्रतिक्रिया आएको छैन। क्षेत्रीय तनाव बढ्दै गएको र यदि स्थल आक्रमण भयो भने पूरै खाडी क्षेत्र अशान्त हुन सक्ने आशंका गरिएको छ।
-एजेन्सी

