काठमाण्डौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो संवर्धित युरेनियम भण्डार हस्तान्तरण गर्न सहमति जनाएको दाबी गरेपछि अन्तर्राष्ट्रिय स्तरमा फेरि यस विषयमा चासो बढेको छ। तर इरानका उपविदेश मन्त्री सईद खतिबजादेहले उक्त दाबीलाई अस्वीकार गर्दै यस्तो प्रस्ताव ‘सुरुदेखि नै असम्भव’ भएको बताएका छन्।
हाल दुवै पक्षबीच सम्भावित शान्ति वार्ताको प्रयास जारी रहँदा संवर्धित युरेनियमको भविष्य प्रमुख एजेन्डा बन्ने देखिएको छ।
संवर्धित युरेनियम भनेको के हो ?
युरेनियम पृथ्वीमा पाइने एक प्राकृतिक तत्व हो, जसमा मुख्य रूपमा दुई आइसोटोप हुन्छन्—यु–२३८ र यु–२३५ प्राकृतिक युरेनियमको करिब ९९ प्रतिशत भाग यु–२३८ हुन्छ, जुन सजिलै परमाणु श्रृंखला प्रतिक्रिया कायम राख्न सक्दैन। करिब ०.७ प्रतिशत मात्र रहेको यु–२३५ भने सजिलै विभाजन भएर ऊर्जा उत्पन्न गर्न सक्षम हुन्छ।
यसै कारण युरेनियमलाई उपयोगी बनाउन यु–२३५ को मात्रा बढाइन्छ, जसलाई ‘संवर्धन’ (एनरिचमेन्ट) भनिन्छ। यस प्रक्रियामा युरेनियमलाई ग्यासमा रूपान्तरण गरी सेन्ट्रीफ्युज मेसिनमार्फत भारी र हल्का आइसोटोप छुट्याइन्छ।
सबैभन्दा पहिले यूरेनियमलाई ग्यासमा रूपान्तरण गरिन्छ। त्यसपछि यो ग्यासलाई सेन्ट्रिफ्युजमा राखिन्छ—यी त्यस्ता मेसिनहरू हुन् जसले अत्यन्त तीव्र गतिमा घुम्छन्।
घुम्ने क्रममा भारी यु–२३८ अलि बाहिरतिर सर्छ भने हल्का यु–२३५ केन्द्रतिर नजिकै रहन्छ। यसरी बिस्तारै उपयोगी यूरेनियम यु–२३५ लाई सामान्य यु–२३८ बाट अलग गरिन्छ।
धेरै सन्केन्द्रीत (कन्सन्ट्रेटेड) भएको यो यूरेनियमलाई सेन्ट्रिफ्युजको एक छेउबाट निकालिन्छ।
परमाणु रियक्टर र हतियारमा प्रयोग हुने युरेनियमबीच के फरक छ ?
परमाणु रिएक्टरहरू र हतियारहरूमा प्रयोग हुने यूरेनियमबीचको मुख्य फरक यसको संवर्धन स्तरमा हुन्छ। यूरेनियमको संवर्धनका फरक–फरक स्तरले यसलाई फरक कामका लागि उपयुक्त बनाउँछ।
कम संवर्धित यूरेनियम, जसमा साधारणतया ३–५ प्रतिशतसम्म यु–२३५ हुन्छ, व्यावसायिक परमाणु विद्युत् उत्पादन केन्द्रहरूमा इन्धनका रूपमा प्रयोग गरिन्छ। यो नियन्त्रित परमाणु श्रृंखला प्रतिक्रिया ९अयलतचयििभम अजबष्ल चभबअतष्यल० कायम राख्न पर्याप्त हुन्छ, तर हतियार बनाउन आवश्यक स्तरभन्दा धेरै कम हुन्छ।
धेरै संवर्धित यूरेनियम, जसमा २० प्रतिशत वा त्यसभन्दा बढी यु–२३५ हुन्छ, अनुसन्धान रिएक्टरहरूमा प्रयोग गर्न सकिन्छ। तर हतियार–स्तर यूरेनियम सामान्यतया करिब ९० प्रतिशतसम्म संवर्धित गरिन्छ।
यस स्तरमा अवस्था यस्तो हुन्छ कि परमाणु प्रतिक्रिया सजिलै अनियन्त्रित हुन सक्छ। जब यस्तो पदार्थ पर्याप्त मात्रामा एकै ठाउँमा जम्मा गरिन्छ, परमाणुहरू अत्यन्त तीव्र गतिमा विभाजन हुन थाल्छन् र एक क्षणमै ठूलो मात्रामा ऊर्जा निस्कन्छ।
यही कुराले यूरेनियमको नागरिक र सैन्य प्रयोगबीच फरक पार्छ। परमाणु रिएक्टरमा इन्धनलाई थोरै मात्र संवर्धित गरिन्छ र प्रतिक्रियालाई जानाजानी ढिलो र नियन्त्रित राखिन्छ, ताकि ऊर्जा महिनौँ वा वर्षौँसम्म विस्तारै निस्किरहोस्। तर बममा उद्देश्य यसको उल्टो हुन्छ—प्रतिक्रियालाई एकैचोटि अत्यन्त तीव्र गतिमा अघि बढ्न दिने।
सन् २०१५ मा चीन, फ्रान्स, जर्मनी, रूस, अमेरिका र बेलायतसँग भएको एक सम्झौताअनुसार, इरानलाई यूरेनियमलाई ३.६७ प्रतिशत भन्दा बढी संवर्धन गर्न अनुमति दिइएको थिएन।
यस सम्झौतामा इरानको यूरेनियम भण्डारण ३०० किलोग्राममा सीमित गरिएको थियो, प्रयोग गर्न पाइने सेन्ट्रिफ्युजहरूको संख्या पनि सीमित गरिएको थियो, र यसको भूमिगत फोर्डो संयन्त्रमा संवर्धन गर्न रोक लगाइएको थियो।
तर डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा, मे २०१८ मा अमेरिका उक्त सम्झौताबाट बाहिरिएको थियो।
संवर्धन स्तर किन महत्त्वपूर्ण ?
संवर्धनको स्तर जति धेरै हुन्छ, युरेनियम त्यति नै परमाणु हतियारमा प्रयोग हुने नजिक पुग्छ। २० प्रतिशत संवर्धनसम्म पुग्नु एक महत्वपूर्ण चरण मानिन्छ, किनभने हतियारस्तरको सामग्री बनाउन आवश्यक धेरैजसो प्राविधिक काम त्यतिन्जेलसम्म पूरा भइसकेको हुन्छ।
प्राकृतिक युरेनियमलाई २० प्रतिशतसम्म संवर्धन गर्नका लागि हजारौं पटक छुट्याउने प्रक्रिया दोहोर्याउनुपर्छ, जसमा धेरै समय र ऊर्जा लाग्छ।
यसको तुलनामा, २० प्रतिशतबाट करिब ९० प्रतिशतसम्म पुर्याउन धेरै कम चरणहरू आवश्यक पर्छन्। यसको अर्थ के हो भने, पहिले नै उच्च स्तरसम्म संवर्धित युरेनियमलाई अपेक्षाकृत छिटो हतियारस्तरमा रूपान्तरण गर्न सकिन्छ ।
इरानसँग कति युरेनियम छ ?
हालको छलफलको केन्द्रमा रहेको प्रश्न भनेको इरानसँग पहिले नै रहेको संवर्धित युरेनियम भण्डारको आखिर के गर्ने भन्ने हो। अमेरिकी अधिकारीहरूका अनुसार, युद्धको सुरुवाततिर इरानसँग करिब ४४० किलो युरेनियम थियो, जसलाई ६० प्रतिशतसम्म संवर्धित गरिएको थियो। यो सामग्रीलाई ९० प्रतिशत स्तरसम्म, जुन हतियारग्रेड युरेनियमका लागि आवश्यक हुन्छ, अपेक्षाकृत छिटो संवर्धित गर्न सकिन्छ।
इरानसँग करिब १ हजार किलो युरेनियम २० प्रतिशतसम्म संवर्धित अवस्थामा पनि छ, र करिब ८ हजार ५०० किलो युरेनियम लगभग ३.६ प्रतिनशतसम्म संवर्धित छ, जसको सामान्यतया नागरिक उद्देश्यका लागि प्रयोग हुन्छ—जस्तै ऊर्जा उत्पादन वा चिकित्सा अनुसन्धान।
अत्यधिक संवर्धित युरेनियमलाई परमाणु हतियार बनाउन प्रयोग गर्न सकिन्छ, यसको धेरैजसो हिस्सा इस्फहानमा राखिएको छ। यो संयन्त्र इरानका तीन भूमिगत परमाणु ठिकानामध्ये एक हो, जसलाई गत वर्ष अमेरिका र इजरायलका हवाई आक्रमणहरूमा लक्षित गरिएको थियो।
यद्यपि यो स्पष्ट छैन कि यस्तो अत्यधिक संवर्धित युरेनियमको कति हिस्सा अन्य स्थानहरूमा राखिएको छ।
सूत्रहरूका अनुसार तेहरानले परमाणु संवर्धनमा २० वर्षको रोक लगाउने माग अस्वीकार गरेको छ। यसको सट्टामा उसले पाँच वर्षको विरामको प्रस्ताव राखेको छ, जुन उसले द्वन्द्व सुरु हुनु अघि नै राखिसकेको थियो।
इरानले आफ्नो ४४० किलो अत्यधिक संवर्धित युरेनियमको भण्डार बुझाउने माग पनि अस्वीकार गरेको छ र पहिले दिएको प्रस्तावमै अडिग छ—अर्थात् ६० प्रतिशतसम्म संवर्धित युरेनियमलाई पातलो (डायल्युट) गर्ने।
अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका प्रमुख राफाएल ग्रोसीले गत वर्ष अक्टोबरमा एपीसँग भनेका थिए कि यदि यो मात्रालाई अझ संवर्धन गरियो भने, यो १० वटा परमाणु बमका लागि पर्याप्त हुन सक्छ।
के इरान परमाणु हतियार बनाईरहेको छ ?
इरानको भनाइ छ कि उसको सबै परमाणु सुविधाहरू पूरै शान्तिपूर्ण छन्, र आइएईएका पनि भनाइ छ कि उसलाई कुनै सक्रिय परमाणु हतियार कार्यक्रमको प्रमाण भेटेको छैन।
हतियार ग्रेड युरेनियम तयार गर्नु परमाणु हतियार बनाउनको केवल एउटा चरण मात्र हो। एक काम गर्ने बम बनाउनका लागि अझ धेरै जटिल काम गर्नुपर्ने हुन्छ, जस्तै वारहेडको डिजाइन र असम्बली, र त्यसलाई पुर्याउन डेलिभरी सिस्टम विकास गर्नु।
स्वतन्त्र हथियार नियन्त्रण विशेषज्ञ प्याट्रिसिया लुइस भन्छिन्, ‘इरानले २००३ सम्म वारहेड डिजाइन गर्ने केही क्षमता विकास गरिसकेको थियो, तर त्यसपछि यस्तो देखिए कि उसले यो कार्यक्रम रोकेको थियो।’
उनी थप्छिन्, ‘सन् २०१५ को परमाणु सम्झौता टुटेपछि र नयाँ सम्झौताको लागि वार्ता निरन्तर असफल भएपछि इरानले फेरि वारहेड बनाउन सक्ने सम्भावना छ ।’
यूएस डिफेन्स इन्टेलिजेन्स एजेन्सीको मे २०२५ को मूल्याङ्कनमा इरान संभवतः एक हप्ता भन्दा पनि कम समयमा एक परमाणु उपकरणको लागि पर्याप्त हतियार ग्रेड युरेनियम तयार गर्न सक्ने उल्लेख गरिएको थियो ।

