काठमाण्डौ । सरकारले आगामी तीन महिनाका लागि कुनै पनि सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा नपठाउन निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग तथा सरकारी निकायहरूलाई परिपत्र गर्दै तत्कालका लागि विदेश भ्रमणसम्बन्धी मनोनयन नगर्न निर्देशन दिएको हो।
सरकारले चैत १३ गते गरेको निर्णयअनुसार अघि बढाइएको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याउँदै यस्तो निर्णय गरिएको हो।
कार्यालयका अनुसार, सुधारका प्राथमिक कार्यक्रमहरू कार्यान्वयनको संवेदनशील चरणमा रहेकाले कर्मचारीहरू विदेश भ्रमणमा जाँदा कार्यप्रगतिमा ढिलाइ हुने जोखिम देखिएको छ।

