काठमाण्डौ । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन्। उनका अनुसार सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ।
यस्तै बैठकले भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी, सशस्त्र प्रहरी बलको महानिरीक्षक पदमा अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ।
सरकारका यी निर्णयहरू प्रशासनिक सुधार, कानुनी अद्यावधिक तथा सुरक्षा निकायको नेतृत्व व्यवस्थापनसँग सम्बन्धित रहेका छन्।

