काठमाण्डौं । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।
काठमाडौँतर्फ उडान भर्न लागेका यात्रुको सुरक्षा जाँचका क्रममा २६ लाख ९८ हजार रुपैयाँ नगदसहित दुई युवकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका अनुसार वैशाख १८ गते राति बुद्ध एयरको उडानबाट काठमाडौँ जान लागेका सुनसरीको धरान उपमहानगरपालिका–१८ निवासी ३५ वर्षीय दिलीप तामाङ पक्राउ परेका हुन्। उनको साथबाट ११ लाख रुपैयाँ बरामद भएको थियो।
त्यसैगरी, वैशाख १९ गते दिउँसो श्री एयरको उडानमार्फत काठमाडौँ जान लागेका भारतको मालदा जिल्लाका ३६ वर्षीय मोहिदिल अलिललाई पनि पक्राउ गरिएको छ।
उनको साथबाट १५ लाख ९८ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको नगदको आधिकारिक स्रोत खुल्न नसकेपछि दुवै जनालाई रकमसहित नियन्त्रणमा लिइएको हो।
हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

