काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.९८ प्रतिशत अर्थात २६.४९ अंकले बढेर २ हजार ७२२.७३ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.४७ प्रतिशतले बढेर ४५८.४७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको कारोबार एक महिनाकै उच्च हो । यसअघि गत फागुन २५ गते १० अर्ब ९ करोड बढीको कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘राजनीतिक लगायतका विषयले गर्दा लगानीकर्ताको मनोबल बढेसँगे आज सेयर बजार बढेको छ । आज बसेको काङग्रेसको पदाधिकारी बैठकले सरकार तत्काल नढल्ने र गभर्नर छिट्टै नियुक्ती हुने सुनिश्चित गरेकाले बजारमा सकारात्मक माहोल बनेको छ ।’
बैंकहरुमा तरलता प्रयाप्त रहेको अवस्थामा राम्रो गभर्नर आएमा अर्थतन्त्र चलायन हुने देखिएको उनले बताए । मितेरी डेभलपमेन्ट बैंकको रिपोर्ट राम्रो आएसँगै लगानीकर्ताले अन्य बैंकहरुको रिपोर्ट पनि राम्रो आउने अपेक्षा गरेको समेत उनले बताए ।
अर्का बजार जानकार सुमन कुमार रिजालले पनि निरन्तर घटेको बजारमा चैत मसान्तको दबाब सकिएसँगै गभर्नर छिट्टै नियुक्ती हुने जस्ता विषयले आज बजारमा उत्साह आएको बताए । ‘बैंकहरुको ब्याजदर पनि निरन्तर ओरालो लागिरहेको छ । पूँजीगत खर्च बढ्दै गएको छ र तरलता थुप्रिदै गएकाले बजारले गति लिएको छ,’उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएको छ । लगानी समूह आज सर्वाधिक अर्थात ३.०३ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज १.२६, विकास बैंक १.०९, फाइनान्स ०.७६, होटल ०.१४, हाईड्रो १.१४, जीवन बीमा ०.८६, उत्पादन तथा प्रशोधन ०.०४,लघुवित्त ०.८०,म्युचुअल फण्ड ०.८७,निर्जीवन बीमा १.०८,अन्य ०.३५ र व्यापार समूह ०.८२ प्रतिशतले बढ्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन पावर पाटर्नरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १ अर्ब ५८ करोड २५ लाख बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको पनि आज ६२ करोड ४६ लाख,एचआईडीसीएल ४९ करोड ६१ लाख,ङादी ग्रुप पावरको ३८ करोड १५ लाख र राधी विद्युत कम्पनीको ३७ करोड ८८ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयरमूल्यमा अपर सर्किट लाग्यो । सम्पदा लघुवित्तको सेयरमूल्य पनि आज ७.०७ प्रतिशत,एचआईडीसीएलको ६.७९ र सुपर मादी हाईड्रोको सेयरमूल्य ६.६८ प्रतिशतले बढ्यो ।
बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य आज सर्वाधिक अर्थात ४.४६ प्रतिशतले घट्यो ।