काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टलाई गभर्नर बन्न थप बाधा उत्पन्न भएको छ । उनीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्च प्रशासनमा निवेदन दर्ता गराएका हुन् ।
भट्टले शुक्रबारमात्रै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । भट्टको राजीनामा भने स्वीकृत भइसकेको छैन ।
यसअघि गत २ वैशाखमा अधिवक्ताद्वय उप्रेती र थापाले नै दायर गरेको रिट अन्तरिम आदेश जारी गर्दै ६५ वर्ष उमेर पार गरेका व्यक्तिलाई नियुक्तिको प्रक्रियामा सामेल नगराउन सर्वोच्चले भनेको थियो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाको कार्यविधि विपरित डा। भट्टलाई कानुनको विधि परित्याग गरी नेताहरूको सहमतिको आधारमा नियुक्ति गर्ने गैरकानुनी प्रपञ्च रचिएको पुरक रिट निवेदनमा दाबी गरिएको छ ।
त्यस्तै, कानुनको बाटोबाट योग्य उम्मेदवारहरुको गभर्नर नियुक्ति समितिबाट छनौट भएर आउनुपर्नेमा गैर कानुनी बाटोबाट नेताहरुको सहमतिमा नियुक्ति गरिने कार्य सुशासन ऐन विपरित हुने दावी पनि रिटमा गरिएको छ ।
भट्टविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेशको छलफल आइतबारका लागि तोकिएको छ ।