काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नर बन्नका लागि अयोग्य रहेको भन्दै परेको भन्दै सर्वोच्च अदालतमा परेका रिट हेर्न नभ्याइनेमा परेको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहित वैशाख ५ गते परेको रिट र निवेदनको पेसी आज ४० औँ नम्बरमा परेको थियो ।
उक्त मागसहितको पुनरावेदन निवेदन न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो ।
भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
भट्टले शुक्रबार नै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भने भइसकेको छैन ।
यसअघि गत २ वैशाखमा अधिवक्ताद्वय उप्रेती र थापाले नै दायर गरेको रिटमाथि अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले ६५ वर्ष उमेर पार गरेका व्यक्तिलाई नियुक्तिको प्रक्रियामा सामेल नगराउन भनेको थियो ।