काठमाण्डौ । तेस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्स कम्पनीहरुको नाफामा केही सुधारको संकेत देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा फाइनान्स कम्पनीहरुले समग्रमा १८ करोड ९६ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ७.४३ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्ममा फाइनान्स कम्पनीहरुले २० करोड ४८ लाख रुपैयाँ समग्रमा नाफा आर्जन गरेका थिए ।
पछिल्लो केही समययता बैंक तथा वित्तीय संस्थाहरुलाई खराब कर्जा अनुपातका कारण नाफा बृद्धि गर्न समस्या परिरहेको छ । तर वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले दिएको पुनर्संरचना र पुनर्तालिकीकरणको सहुलियतका कारण बैंक वित्तीय संस्थाको आम्दानी र नाफामा केही सुधारको संकेत देखिन थालेको छ ।
पहिलो र दोस्रो त्रैमाससम्म फाइनान्स कम्पनीहरुले घाटा ब्योहोरे पनि तेस्रो त्रैमाससम्म आइपुग्दा समग्रमा फाइनान्सहरु नाफामा उक्लिएका छन् । साथै घाटामा रहेको फाइनान्सहरुले समेत गत आवको तुलनामा नोक्सानी घटाउन सफल भएका छन् ।
सो अवधिसम्म अझैपनि पाँचवटा फाइनान्स कम्पनी घाटामा नै छन् । घाटामा ब्यहोर्ने कम्पनीहरुमा समृद्धि फाइनान्स, गुर्खाज फाइनान्स, बेष्ट फाइनान्स, जानकी फाइनान्स, रिलायन्स फाइनान्स रहेका छन्
तेस्रो त्रैमाससम्म सबैभन्दा बढी नाफा कमाउनेमा आइसीएफसी फाइनान्स रहेको छ । कम्पनीले १९ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ४८६.३१ प्रतिशत बढी हो ।
त्यस्तै, दोस्रो बढी नाफा कमाउनेमा मन्जुश्री फाइनान्स रहेको छ । कम्पनीले पनि सो अवधिसम्म १७ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत आवको तुलनामा १३.३३ प्रतिशत बढी हो
यसका साथै प्रोग्रेसिभ फाइनान्सले ९ करोड ४ लाख, पोखरा फाइनान्सले ७ करोड १९ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्सले ४ करोड ९१ लाख, गुहेश्वरी फाइनान्सले ३ करोड २४ लाख, मल्टीपर्पस फाइनान्सले २ करोड १६ लाख, सेन्ट्रल फाइनान्सले १ करोड ६९ लाख, गुडवील फाइनान्सले १ करोड ५२ लाख र नेपाल फाइनान्सले १७ लाख रुपैयाँ नाफा कमाएको छ
समिक्षा अवधिसम्ममा पाँच फाइनान्स कम्पनीले मात्रै ४७ करोड ६१ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् । सबैभन्दा बढी घाटा ब्यहोर्नेमा रिलायन्स फाइनान्स रहेको छ । कम्पनी सो अवधिसम्म १७ करोड ४७ लाख रुपैयाँ घाटामा रहेको छ ।
त्यस्तै, जानकी फाइनान्सले १२ करोड ८३ लाख, वेष्ट फाइनान्सले ७ करोड ५२ लाख, गोर्खाज फाइनान्सले ६ करोड २१ लाख र समृद्धि फाइनान्सले ३ करोड ५७ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।
