काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा विकास बैंकहरुमा लगानीकर्ताहरुको आकर्षण बढ्दै गएको छ । विशेषगरी ‘लो क्याप’ मा गनिने क्षेत्रीय स्तरका विकास बैंकहरुमा बढ्दो चार्म देख्न सकिन्छ ।
लो क्याप अर्थात् अल्ट्रा लो क्याप भएकै कारण क्षेत्रीय स्तरका विकास बैंकलाई लिएर केही समूहले दोस्रो बजारमा सेयरमूल्यमा चलखेल समेत गर्ने गरेका छन् । नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट र सिन्धु विकास बैंक लो क्यापमा गनिने कम्पनीहरु हुन् ।
बजारमा यी कम्पनीरुमा लगानीकर्ताको निकै आकर्षण देखिन्छ । सूचीकृत सेयर संख्या कम भएकै कारण यी कम्पनीको सेयरमा कर्नरिङ गर्न सहजताको हिसाबले पनि बढी मूल्य चलखेल हुने गरेको पाइन्छ । बजारमा यतिबेला हल्ला र उक्साहटकै आधारमा सेयर किन्ने प्रवृत्तिले गर्दा पनि केही खेलाडीहरुलाई मूल्य उचाल्न र कर्नरिङ गर्न सहज भएको छ ।
जुन कम्पनीको पूँजी कम त्यहि कम्पनीको सेयरभाउ उचालिने त सामान्य जस्तै हो तर ती कम्पनीहरुको वित्तीय अवस्था र आधारभुत पक्षलाई ध्यान नदिई हल्लाकै भरमा सेयर किन्दा उच्च जोखिम हुन्छ । अहिले बजारमा यस्तै अवस्थाले कतिपय लगानीकर्ताहरु डुबेका छन् । वित्तीय अवस्थाको जानकारी नराखीकन नै उक्साहटमा सेयर किन्दा लाखौं लगानी डुबेको अवस्था छ ।
यदि दोस्रो बजारमा लगानी गर्नुअघि लगानीकर्ताले ती कम्पनीको वित्तीय अवस्थाको विषयमा अवश्य जानकारी राख्नुपर्दछ । विशेषगरी कम्पनीको नाफा, पूँजी, प्रतिसेयर आम्दानी, नेटवर्थ, रिजर्भ जस्ता अवस्थाको विषयमा जानीराख्नुपर्दछ ।
बजारमा अहिले क्षेत्रीय स्तरका विकास बैंकहरुको निकै चर्चा छ । तर चर्चाकै आधारमा सेयर किनिहाल्दा झ्वाम्मै डुब्न सक्ने सम्भावना बढी रहन्छ । कम्तिमा पनि लगानीकर्ताले कम्पनीको पूँजी, नाफा, व्यवसाय र रिजर्भको अवस्था बुझ्न जरुरी हुन्छ । सेयरमूल्यकै आधारमा सेयर किनिहाल्दा जोखिम बढी हुन्छ । अहिले बजारमा जुन कम्पनीको वित्तीय अवस्था कमजोर छ, त्यहि कम्पनीको मूल्यमा चलखेल गरिएको हुन्छ अर्थात् मूल्य उचालेर सोझा लगानीकर्तालाई भिडाएर आफु उम्किएका हुन्छन् ।
लो क्यापमा गनिने विकास बैंकहरुमध्ये चालु आवको दोस्रो त्रैमाससम्ममा केही बैंकको अवस्था राम्रो देखिएको छैन । नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक सो अवधिसम्म घाटामा छन् । तरपनि उक्त कम्पनीहरुको सेयरभाउ राष्ट्रिय स्तरका बैंकहरु जुन वित्तीय रुपमा बलिया छन् तीनिहरुको भन्दा उच्च छ ।
क्षेत्रीय स्तरका यी बैंकहरुको खराब कर्जा अनुपात (एनपीएल) पनि नेपाल राष्ट्र बैंकले तोकेको भन्दा बढी छ । यस हिसाबमा पनि यी बैंकहरुको आम्दानी र नाफाको अवस्था सन्तोषजनक छैन ।
चालु आवको दोस्रो त्रैमाससम्मको रिपोर्टअनुसार आम्दानीको आधारमा सप्तकोशी डेभलपमेन्ट बैंक अब्बल देखिएको छ । त्यस्तै, खुद नाफाको आधारमा सिन्धु राम्रो देखिएको छ । सिन्धुले ७ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै, सबैभन्दा कम एनपीएल भने ग्रीन डेभलपमेन्ट बैंकको ४.८७ प्रतिशत मात्रै छ । यता रिटेन्ड अर्निङमा पनि ग्रीन नै अब्बल देखिएको छ भने रिजर्भमा भने सप्तकोशी डेभलपमेन्ट बैंकले धेरै रकम सञ्चित गरेको छ ।
साथै सबैभन्दा कम सूचीकृत सेयर संख्या भने नारायणी डेभलपमेन्ट बैंकको छ । साथै इपीएसमा सिन्धु विकास बैंक, बुक भ्यालुमा कर्पोरेट डेभलपमेन्ट बैंक, आरओईमा सिन्धु विकास बैंक र वितरणयोग्य मुनाफामा ग्रीन डेभलपमेन्ट बैंक राम्रो देखिएको छ ।
