काठमाण्डौ । पैचो पसल प्रालिले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि एनआईसी एशिया क्यापिटललाई आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
बुटवल, रुपन्देहीमा रजिष्ट्रार कार्यालय रहेको पैचो पसल प्रालि कृषि व्यवसायमा केन्द्रीत कम्पनी हो । कम्पनीले उच्च पहाडी क्षेत्रका उत्पादन भएको तरकारीहरुलाई उच्च गुणस्तर कायम गरी उपभोक्ता माझँ पुर्याउने काम गर्दै आईरहेको छ । यस्तै पैचो पसलले केचप, अचार तथा जाम जस्ता खाद्य परिकारहरु उत्पादन तथा प्याकेजिङ गरी बिक्रीवितरण गर्दै आइरहेको छ । पैचो पसल केवल खाद्य कम्पनीमात्र नभई, बीउबिजनउत्पादन देखीउत्पादित बस्तु बजारसम्म किसानहरूसँग सहकार्य गर्दै ग्रामीण भेगमा बसोबास गर्ने समुदायहरूको आर्थिक र सामाजिक उत्थानमा समेत योगदान पुर्याउन सफल कम्पनी समेत हो ।
कम्पनीले प्राविधिक परामर्श, व्यवस्थापन, र बजार पहुँच सुनिश्चितता गर्दै कृषकहरुलाई खेतमै मात्र नभई खेतबाहिर पनि जीवनयापनका अवसरहरू सिर्जना गरिरहेको जनाएको छ ।
पैचो पसलले आगामी दिनमा सर्वसाधारणहरुमा सेयर जारी गरी कम्पनीको व्यवसाय थप प्रभावकारी रुपमा विस्तार गर्ने लक्ष्य लिएको छ । पैचो पसललाई बेलायतको Foreign, Commonwealth and Development Office (FCDO)को CASA Program बाट सक्रिय रूपमा सहयोग पुर्याई कम्पनीको क्षमता विकास, मूल्य सुदृढीकरण, र ग्रामीण उद्यमीहरूलाई वित्तीय पहुँच विस्तारमा केन्द्रित भई विशेष सहयोग प्राप्त भइरहेको छ । जसको लागी ट्रु नर्थ एसोशियट्स प्रालिले परामर्श उपलब्ध गराउदै आइरहेको छ ।