काठमाण्डौ । हामीले दैनिक रुपमा नोटको प्रयोग गरिरहेका हुन्छौ । यसरी दैनिक प्रयोग हुने नोट विविध कारणले गर्दा झुत्रो हुने गर्छ । नेपाल राष्ट्र बैंकले यस्ता झुत्रा नोटको दाबी प्रक्रिया र भुक्तानीका विषयमा केही व्यवस्था गरेको छ ।
कसैसँग रहेको बैंकनोट आगोमा पोलिई, किराले खाई, च्यातिई, पानीले भिजी वा अन्य कुनै कारणले चलनचल्ती योग्य नभएमा त्यस्तो नोटको साटोमा नयाँ/सुकिलो नोट नेपाल राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली, २०५९ मा भएको व्यवस्थाबमोजिम सट्टा भर्ना माग गर्न सकिन्छ । त्यस्ता चलनचल्तीमा अयोग्य भएका नोटहरूको सट्टा भर्नाको दावीका लागि नेपाल राष्ट्र बैंकमा दावी पेश गर्नुपर्छ ।
डिजाइन मेटिएको, च्यातिएको, विकृत वा पचास प्रतिशतभन्दा बढी भाग नभएको बैंक नोटको सट्टा भर्ना नहुने व्यवस्था रहेको छ । आगलागी वा दैवी प्रकोपमा परेका नोटको सट्टा भर्नाका लागि स्थानीय तह वा प्रहरी कार्यालयको सिफारिस आवश्यक पर्दछ ।
नोटको जतन गरी र झुत्रो नोटको समयमा दावी गर्न राष्ट्र बैंकले सबैमा आग्रह गरेको छ ।