काठमाण्डौ । ब्राजिलले भारतसँग हवाई प्रतिरक्षा प्रणाली खरिदका लागि भइरहेको वार्ता स्थगित गरेको छ । जुलाई ८ मा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दक्षिण अमेरिकी देशको सर्वोच्च नागरिक सम्मान प्रदान गरेकै बेला यस्तो खबर बाहिरिएको हो ।
यतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ब्राजिलको राजकीय भ्रमणमा छन् । यो ५७ वर्षमा भारतीय प्रधानमन्त्रीको पहिलो भ्रमण हो। यस क्रममा मोदी र लुलाबीच द्विपक्षीय वार्ता भएको छ । जसमा दुवै देशले सन् २०३० सम्ममा व्यापारलाई २० अर्ब डलर पुर्याउने सहमति गरेका छन् । २०२४÷२५ मा दुई देशबीच १२.२० अर्ब डलर व्यापार भएको थियो ।
मोदी र लुला वार्ताका क्रममा द्विपक्षीय प्रतिरक्षा र सुरक्षा सहयोग विस्तार गर्न सहमत भए पनि ब्राजिलले भारतबाट आकाश एयर डिफेन्स मिसाइल प्रणाली किन्न जारी वार्ता स्थगित गर्ने निर्णय गरेको छ । डेक्कन हेराल्डले स्रोतहरूलाई उद्धृत गर्दै लुलाको सरकारले भारतको सट्टा इटालीबाट एन्हान्स्ड मोड्युलर एयर डिफेन्स सोलुसन प्रणालीहरू खरिद गर्नमा ध्यान केन्द्रित गरिरहेको छ ।