काठमाण्डौ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा आएको छ । निरन्तर वर्षासँगै भासिएको सडक मर्मतपश्चात आज साढे १२ बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।
यससँगै बिहानैबाट रोकिएका यात्रुवाहक र साना सवारी साधनलाई पालैपालो आउजाउ गर्न दिइएको छ । बर्दघाट नगरपालिका ४ खुर्सानीखोलामा आज बिहानपख तीन फिट जति सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको थियो ।
पूर्णरुपमा राजमार्ग सुचारु गराउन नारायणगढ बुटवल सडक विस्तार आयोजनाले मर्मतको काम गरिरहेको छ । गत वर्षपनि सोही स्थानमा सडक भासिदा दुई दिनसम्म राजमार्ग सुचारु हुन सकेको थिएन । गत वर्ष पहिरोले भासिएको सडक मर्मत गरेर सुचारु गरिएको भएपनि यस वर्ष पानी पर्न थालेपछि सोही स्थानमा फेरि सडक भासिएको हो ।