नयाँदिल्ली । भारतको सबैभन्दा ठूलो निजी बैंक एचडीएफसीले आर्थिक वर्ष २०२५/२६ को पहिलो त्रैमास (अप्रिल–जुन) मा चुक्ता पुँजीको तुलनामा अत्यधिक मुनाफा कमाएको छ। बैंकको चुक्ता पुँजी ₹७५९.६९ करोड भए पनि उक्त अवधिमा यसले ₹१८,१५५ करोड बराबरको नाफा देखाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १२.२४ प्रतिशतले बढी हो।
बैंकले कुल रु.९९,२०० करोड आम्दानी गरेको छ जसबाट कर्मचारी तलब, बिजुली बिल, निक्षेप व्यवस्थापन लगायतका खर्चमा रु.६३,४६६ करोड खर्च गरेको थियो। बाँकी रकम मुनाफा बनेको हो।
यस त्रैमासमा एचडीएफसी बैंकले शेयरधारकलाई प्रति शेयर रु. ५ को विशेष अन्तरिम लाभांश र १:१ को अनुपातमा बोनस सेयर दिने घोषणा गरेको छ। बोनस सेयरको लागि रेकर्ड मिति २७ अगस्ट २०२५ तोकिएको छ।
नेपालका बैंकहरूका तुलनामा एचडीएफसीको चुक्ता पुँजी कम भए तापनि यसको नाफा र बजार पूँजीकरण निकै अगाडि छ। नेपालका ठूला बैंकहरूको चुक्ता पुँजी करिब १८–३५ अर्ब रुपैयाँसम्म छ भने उनीहरूको त्रैमासिक नाफा भने तुलनात्मक रूपमा कम देखिन्छ।
एचडीएफसी बैंकले देशभर ९,०९२ भन्दा बढी शाखा र २०,९९३ भन्दा बढी एटीएम संचालन गर्दै आएको छ। यसका प्रबन्ध निर्देशक तथा CEO शशिधर जगदीशन हुन्।
यसरी एचडीएफसी बैंकले कम चुक्ता पुँजीमा पनि उच्च कार्यक्षमता र मुनाफा कमाएर भारतीय बैंकिङ क्षेत्रमा आफ्नो मजबूत उपस्थिति कायम राखेको छ।