काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकले गत आवको चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद ब्याज आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ । बैंकले यो अवधिसम्म १३ करोड ४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.०३ प्रतिशतले कम हो ।
अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले १४ करोड ४९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म २५ करोड ९७ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी २१.३२ प्रतिशतले घट्दै २० करोड ४३ लाख रुपैयाँमा सीमित बनेको छ ।
बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने बढेको छ । खुद शुल्क तथा कमिशन आम्दानी १ करोड ५० लाख रुपैयाँबाट बढेर ३ करोड २६ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकको खुद सञ्चालन आम्दानी ३५ करोड ३१ लाख रुपैयाँबाट घटेर ३१ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
१ अर्ब २१ करोड रुपैयाँ चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ १५ करोड ६१ लाख र रिजर्भको आकार ३४ करोड ४२ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकले खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवमा ०.८१ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ०.२८ प्रतिशतमा सीमित बनेको छ ।
बैंकको वितरणयोग्य मुनाफा १५ करोड ६१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो रकम १५ करोड ५७ लाख रहेको थियो । यो अवधिमा बैंकको लाभांश क्षमता १४.०१ प्रतिशतबाट घटेर १२.८३ प्रतिशतमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) पनि १३.०४ प्रतिशतबाट घटेर १०.७१ प्रतिशतमा झरेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १४१.११ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६४.२३ गुणा र तरलता अनुपात ३५.८६ प्रतिशत कायम भएको छ ।