काठमाण्डौ । सरकारले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उपभोग दस्तुर तयार पारेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तयार पारेको हो ।
जसअनुसार कार÷भ्यानहरु काठमाण्डौमा प्रवेश गर्दा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ तोकेको छ भने मिनिबस, मिनिट्रक र टिपरलाई प्रवेशमा प्रतिपटक प्रवेशमा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ निर्धारण गरी स्वीकृत गरिएको छ ।
त्यस्तै, यता बसट्रक प्रवेशमा २६० रुपैयाँ र बाहिरिदा २०० रुपैयाँ, भारी उपकरण बोकेको सवारीको प्रवेशमा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैया शुल्क तोकिएको छ ।
सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धि निर्देशिका पारित भएसँगै गाडीको मापदण्ड, गति, सीमा र प्रवेश÷प्रतिबन्ध नियम लागू भएको छ । निर्देशिका बमोजिम सुरुङमार्गमा अधिकतम गति ६० किमि÷घण्टा तोकिएको छ ।
साथै निर्देशिकामा पैदल यात्री, दुईपांग्रे, तीनपांग्रे, नन–मोटराइज्ड सवारी तथा तेल ग्यास विस्फोटजस्ता जोखिमयुक्त माल बोकेको सवारी र मापदण्डभन्दा ठूलो वा बढी भार बोकेका सवारीले सुरुङमार्गमा प्रवेश गर्न नपाउने उल्लेख छ ।
यसका साथै सुरुङमार्गभित्र ओभरटेक, युटर्न, अनावश्यक हर्न, आकस्मिक लेन परिवर्तन पूर्ण रुपमा निषेध गरिएको छ भने हेडलाइट अनिवार्य गरिएको छ ।