काठमाण्डौ । खुद ब्याज आम्दानी घटेसँगै र इम्पेयरमेन्ट चार्ज बढेसँगै गोर्खाज फाइनान्स लिमिटेड घाटामा गएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १२ करोड ७३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड २३ लाख नाफामा थियो ।
कम्पनीको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ३० करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने २५ करोड ८ लाख मात्रै खुद ब्याज आम्दानी गरेको छ ।
कम्पनीको खुद सञ्चालन आम्दानी पनि ३८ करोड ७ लाखबाट घटेर १२ करोड २४ लाखमा सीमित बनेको छ । यस्तै कम्पनीको सञ्चालन मुनाफा ११ करोड ८० लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि १९ करोड ४३ लाख रुपैयाँ छुट्टाएको छ । समीक्षा अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङ ५७ करोड २३ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको रिजर्भको आकार पनि घटेको छ । अघिल्लो आवमा ९७ करोड २१ लाख रुपैयाँ रहेको रिजर्भ घटेर ९१ करोड ८४ करोडमा खुम्चिएको छ । कम्पनीको सेयर प्रिमियम शीर्षकमा २ करोड २३ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको वितरणयोग्य मुनाफा ५७ करोड २३ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
ग्राहकहरुबाट कम्पनीले ९ अर्ब ४२ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ भने ५ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात १२.७३ प्रतिशतबाट बढेर १६.१० प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१४.६८ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १४१.७५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २५०.८५ रुपैयाँ र तरलता अनुपात ३८.८७ प्रतिशत कायम भएको छ ।