काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको ट्रेड टावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्केृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिसम्म १ लाख ३० हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो र यसरी कम्पनीको नाफामा ९९.३८ प्रतिशतले घटेको छ ।
कम्पनीको कुल आम्दानी भने बढेको छ । यो अवधिमा कम्पनीले १९ करोड ४७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ७५.५६ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ११ करोड ९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।
कम्पनीको खर्च भने चुलिएको छ । अघिल्लो आवमा ४ करोड ५४ लाख रुपैयाँ कुल खर्च गरेको कम्पनीले समीक्षा अवधिसम्म १० करोड १३ लाख खर्च गरेको छ । यसरी कम्पनीको खर्चमा १२२.९१ प्रतिशत बढोत्तरी आएको छ ।
कम्पनीको वित्त खर्च पनि १ करोड ४७ लाख रुपैयाँबाट ४ करोड ३४ लाख रुपैयाँ पुगेको छ । ८१ करोड ५६ लाख चुक्तापूँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति १७ करोड ९ लाख र कुल चालु दायित्व २९ करोड ५० लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.०३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५.९३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६६.२३ रुपैयाँ र तरलता अनुपात ०.५८ प्रतिशत कायम भएको छ ।