काठमाण्डौ । हिमालयन बैंक लिमिटेड कोष प्रबद्र्धक तथा हिमालयन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको हिमालयन म्युचुअल फण्डअन्तर्गतको पहिलो बन्दमुखी सामूहिक लगानीकोष योजना “हिमालयन ८०–२०”ले आर्थिक वर्ष २०८१/०८२ मा १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडको भदौ १३ गते साँझ ५ बजे बसेको ७४ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट योजनाका ईकाइधनीहरुलाई करसहित १६.१६ प्रतिशतको दरले हुनआउने रु १६,१६,००,००० (अक्षरेपी सोह्र करोड सोह्र लाख रुपयाँमात्र) प्रतिफलको रुपमा बितरण गर्ने निर्णय गरेको हो ।
हिमालयन ८०-२० योजनाले प्रदान गर्ने लाभांश प्रक्षेपणभन्दा ६ प्रतिशत अधिक र अनुमानित आन्तरिक प्रतिफल दर बराबर रहेको छ ।
निकट भविष्यमा खुल्लामुखी योजना संचालनमा ल्याउने तयारीमा रहेको हिमालयन क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको हिमालयन ८०–२० योजनाले आगामी वर्षहरूमा पनि इकाईधनीहरूलाई उत्कृष्ट प्रतिफल दिने र लाभांशमा निराश नबनाउने विज्ञप्तिमार्फत दाबी गरेको छ ।