काठमाण्डौ । प्रहरीको अन्धाधुन्ध गोली प्रहारबाट १८ जना जेनजी आन्दोलनकारीको मृत्यु भएपछि मात्र राष्ट्रिय मानवअधिकार आयोग बोलेको छ ।
अरुबेला यस्ता प्रदर्शनअघि वा समयमै सरकार वा सम्बन्धित निकायलाई खबरदारी गर्ने आयोग १८ जना जेनजीको मृत्यु भएको र २ सय बढी घाइते भएका खबरहरु सार्वजनिक भएपछि मात्र बोल्न बाध्य भएको हो ।
त्यसो त आयोगले यसपटक देखाएको कार्यशैलीको विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ । सरकारले बानेश्वर प्रदर्शनमा बल प्रयोग गरी आन्दोलनलाई दबाउँदा समेत आयोग नबोलेको भनेर कतिपयले उसको आलोचना गरेका थिए ।
आलोचनाकै बीच आयोगले एक विज्ञप्ति सार्वजनिक गर्दै प्रदर्शनकारीमाथि ‘अत्यधिक’ बल प्रयोग गर्ने कार्य रोक्न सरकारलाई निर्देशन दिएको हो । उसले जेनजीहरुलाई लक्षित गरी प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउन समेत आग्रह गरेको छ ।
आयोगले जेनजीको प्रदर्शनका क्रममा तोडफोड र आगजनी हुनुलाई समेत 'दुःखद' भनेको छ । 'प्रदर्शनकारीहरु संसद भवन प्रवेश गर्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज, पानीको फोहोरा,अश्रुग्यास र गोली प्रहार गरेको अनुगमनको क्रममा पाइएको छ ।' आयोगले भनेको छः'प्रहरीको गोली लागी दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र दर्जनौ व्यक्तिहरु घाइते भएको जानकारी प्राप्त भएको छ ।'
आयोगले लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजहरुलाई समयमै पहिचान गरी त्यसप्रकारका विमतिका आवाजहरुको समयमै यथोचित सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै अगाडि भनेको छः'यसप्रकारका प्रदर्शनहरु तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ ।'