काठमाण्डौ । नेपाली सेनाले देशभर निषेधाज्ञा लागू गरेको छ। राष्ट्रको शान्ति र सुरक्षालाई ध्यानमा राख्दै यो कदम चालिएको सेनाले स्पष्ट पारेको छ।
आज साँझ ५ बजेसम्म कर्फ्यू लागू रहनेछ। सेनाको सूचनाअनुसार, साँझ ५ बजेपछि पनि कर्फ्यू कायम रहनेछ र भोलि बिहान ६ बजेसम्म यो आदेश जारी रहनेछ।
सेनाले जनाएअनुसार, आन्दोलनको आडमा केही अराजक व्यक्ति र समूहहरूले व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरिरहेका छन्। साथै, व्यक्तिमाथि हिंसात्मक आक्रमण र बलात्कारको प्रयासजस्ता गम्भीर अपराधहरू हुने सम्भावना रहेको सेनाले उल्लेख गरेको छ।
यस्ता अपराधजन्य गतिविधि रोक्न सबैलाई सहयोग गर्न सेनाले आग्रह गरेको छ। आन्दोलनको नाममा हुने कुनै पनि हिंसात्मक प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी वा सम्पत्ति र व्यक्तिमाथिको आक्रमणलाई गम्भीर अपराध मानिने र सुरक्षाकर्मीले कडा कारबाही गर्ने सेनाले चेतावनी दिएको छ।
कर्फ्यूको समयमा अत्यावश्यक सेवाहरू, जस्तै एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरू भने निर्बाध सञ्चालन हुनेछन्। आवश्यक सहयोगका लागि नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न सेनाले सबैलाई अनुरोध गरेको छ।
साथै, सेनाले अवकाशप्राप्त सैनिक, सुरक्षाकर्मी, राष्ट्रसेवक, सञ्चारकर्मी र आम नागरिकलाई अफवाहबाट टाढा रहन र केवल आधिकारिक सूचनामा विश्वास गर्न आग्रह गरेको छ।
राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवनलाई सामान्य बनाउने दायित्वप्रति नेपाली सेना प्रतिबद्ध रहेको विश्वास व्यक्त गरेको छ।

