कठमाण्डौ । नेपाली सेनाले डिल्लीबजार कारागार आगो लगाएर भाग्न खोजेका कैदीबन्दीलाई नियन्त्रणमा लिएर फर्काएको छ ।
कारागार तोडफोड गर्दै आगजनी गरेपछि आ आफ्नो झोलासहित भागेका कैदीबन्दीलाई सेनाले समयमै नियन्त्रणमा लिएर पुनः कारागार नै फर्काएको हो ।
कारागारलाई अहिले नेपाली सेनाले आफ्नो नियन्त्रणमा लिएको छ । ठूलो संख्याका कैदीबन्दीलाई भाग्ने तयारी गरिरहेको अवस्थामै सडकमै नियन्त्रण गरेर सेनाले राखेको थियो ।
सो क्रममा केही कैदीबन्दीले सेनाको नियन्त्रण तोड्न खोजेपछि हवाई फायर समेत भएको थियो ।
कैदीबन्दीको प्रश्न
यसैबीच, सेनाको नियन्त्रणमा लिएपछि कारागार स्थानान्तरण हुन तयार भएका कैदीबन्दीले एउटै मुद्दाका रवि लामिछाने पूर्व गृहमन्त्री भएका कारण छुट्ने, तर आफूहरुले चाहिँ जेलमै बस्नुपर्ने ? भन्दै प्रश्न गरेका छन् ।
केही कैदीबन्दीले भने डिल्लीबजार कारागारभित्र मंगलबार गोली चलेको, केही कैदी घाइते भएका भन्दै भित्र बस्न नसक्ने वातावरण बनेपछि बाध्य भएर बाहिर निस्किनु परेको जिकिर समेत गरेका छन् ।