काठमाण्डौ । नयाँ परिस्थितिसँगै बन्न लागेको अन्तरिम सरकारको नेतृत्व लिन पूर्व प्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छिन् ।
प्रधानसेनापति अशोक सिग्देलसँग विभिन्न चरणको वार्तामा सहभागी भइसकेका जेन-जी प्रतिनिधिहरुले आफूहरुको भर्चुअल बैठकबाट कार्कीको नाममा सहमति जुटाएको र सो विषय कार्कीलाई जानकारी गराएपछि उनी अन्तरिम सरकारको नेतृत्व लिन तयार भएकी हुन् ।
'उहाँले सबै जेन-जीको माग नै त्यस्तो हो भने म अगाडि बढ्न तयार छु भन्नुभएको छ ।' जेन-जीका ती प्रतिनिधिले बिजशालासँग भने -'अब हामी आजै सुशीला कार्कीको नाम लिएर प्रधान सेनापतिसँग भेट्नेछौं । अहिलेको अवस्थामा कार्कीको नेतृत्व नै सर्वस्वीकार्य र परिपक्व हुने देखियो ।'
अब सम्भवतः भोलिदेखि सेनासँग हुने छलफलमा जेन-जीको प्रतिनिधिको रुपमा उनीहरुको अजेण्डाहरुलाई लिएर सुशीला कार्की समेत सहभागी हुनेछिन् ।
अरु जेन-जी समूहहरुले पनि छलफल चलाइरहेका छन् । सेनापतिले रास्वपा, राप्रपा, दुर्गा प्रसाईं जस्ता समूहसँग पनि कुराकानी गर्न वार्तामा गएका जेन-जी प्रतिनिधिहरुलाई भनेको विषय बाहिर आएकोले ती समूहहरुबाट पनि सहमति भएमा सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ ।
कार्की नेपालको इतिहासमै पहिलो प्रधानन्यायाधीश भएको व्यक्तित्व हुन् । यदि जेन-जीहरुको प्रस्ताव सेनाले समेत स्वीकार गरेर घटनाक्रम अगाडि बढेको खण्डमा कार्कीले देशको पहिलो प्रधानमन्त्रीको इतिहास बनाउने गौरव प्राप्त गर्नेछिन् ।