काठमाण्डौ । भ्रष्टाचारविरुद्ध ऐतिहासिक आन्दोलन छेडेको जेनजी समूह विभाजित भएको छ।
हिजो भर्चुअल बैठकमा सहभागी भई अन्तरिम सरकारको प्रमुखमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नाम सिफारिस गर्ने समूहमै फूट आएको देखिएको हो ।
सोही समूहबाट फूटेको अर्को समूहले अन्तरिम सरकारको प्रमुखमा सुशीला कार्की अयोग्य रहेको भन्दै त्यसमा असहमति जनाएको छ ।
सो समूहले अन्तरिम सरकार प्रमुखमा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिंगको नाम अगाडि बढाएको छ ।
जेनजी आन्दोलनको भावनाअनुरुप अन्तरिम मन्त्रीपरिषदको नेतृत्वका लागि सबैभन्दा योग्यतम र सबैले रुचाएका बालेन्द्र साहले यो प्रक्रियामा रुचि नदेखाएपछि अब सबैलाई समेटेर लैजानसक्ने नेतृत्वमा कुलमानलाई ल्याउनुपर्ने उनीहरुले विज्ञप्तिमार्फत माग गरेका छन् ।
उनीहरुले कानून अनुसार पनि सुशीला कार्की अन्तरिम सरकार प्रमुख बन्न नमिल्ने, हर्क साम्पांगले सबैलाई मिलाउन नसक्ने भएकोले अबको नेतृत्वमा कुलमानलाई ल्याउनुपर्ने माग गरेका हुन् ।
