काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ एप ‘गरिमा डिजि बटुवा’बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । गरिमा विकास बंैकका ग्राहकहरुले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात आफ्नो मोबाईल बैकिङ एपमा सो सेवा सुचारु गर्न सक्नेछन् ।
उक्त भर्चुअल क्रेडिट कार्डमार्फत ग्राहकले फोनपे को कुनै पनि क्युआर कोड र फोन पे नेटवर्कमा सजिलै भुक्तानी गर्न सक्नेछन् । न्यूनतम रु. १० हजारदेखि अधिकतम रु. १ लाखसम्म क्रेडिट सीमा रहेको यस भर्चुअल क्रेडिट कार्डमा भुक्तानीका लागि ग्राहकहरूले अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट रकम उपभोग गर्न सक्नुका साथै हिसाब राफसाफमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प समेत लिन सक्नेछन् । भौतिक रुपमा नभई मोबाईल बैकिङ एपमा भर्चुअल रुपमा उपलब्ध हुने यस सुविधाले ग्राहकलाई थप सुरक्षित र नविनतम अनुभव दिने विश्वास विकास बैंकले राखेको छ ।
हाल गरिमा विकास बैंकका देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत बैंकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।