काठमाण्डौ । सरकारले विभिन्न मुलुकमा कार्यरत ११ जना नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई आगामी २०८२ कात्तिक २० गतेसम्म नेपाल फर्कन निर्देशन दिएको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार फिर्ता बोलाइने राजदूतहरूमा चीनका कृष्णप्रसाद ओली, जर्मनीका शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रसियाका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी, र जापानका डा. दुर्गाबहादुर सुवेदी रहेका छन्।
सरकारी स्रोतका अनुसार फिर्ता गरिएका मध्ये अधिकांश राजदूतहरू राजनीतिक नियुक्ति प्राप्त व्यक्तिहरू हुन् भने केहीले परराष्ट्र सेवाको कोटाबाट दूतावास जिम्मेवारी पाएका थिए।
यस निर्णयसँगै सरकार अब राजदूतहरूको नयाँ सूची तयारीमा जुट्ने अनुमान गरिएको छ।