काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स चालु आवको पहिलो त्रैमाससम्म २९ करोड ८५ लाख ४१ हजार रुपैयाँ घाटामा देखिएको छ । गत आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ६ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।
जेनजी आन्दोलनका कारण कम्पनीमा ठूलो बीमा दाबी परेसँगै कम्पनीको दायित्व चुलिँदा कम्पनीले करिब ३० करोड रुपैयाँ घाटा ब्यहोर्नु परेको हो ।
सो अवधिसम्म कम्पनीले ७४ करोड ८१ लाख रुपैयाँ बीमा दाबी भुक्तानी दिएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १४७।२३ प्रतिशत बढी हो । कम्पनीले गत आवको पहिलो त्रैमाससम्म ३० करोड २६ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी दिएको थियो ।
यता कम्पनीको व्यवसायमा समेत संकुचन देखिएको छ । असोज मसान्तसम्म कम्पनीले ३० करोड ९० लाख रुपैयाँ प्रिमियम भित्र्याएको छ, जुन यो गत आवको तुलनामा १०.९८ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म कम्पनीले ३४ करोड ७१ लाख रुपैयाँ प्रिमियम भित्र्याएको थियो ।
२ अर्ब ८० करोड रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीको बीमा कोषमा १२ अर्ब ५ करोड रुपैयाँ सञ्चित रहेको छ भने रिटेन्ड अर्निङ ७२ करोड ८८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ४२.५५ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ २६५.३३ रुपैयाँ, पीई रेसियो १४.९२ गुणा ऋणात्मक र तरलता अनुपात १.४६ प्रतिशत रहेको छ ।

