काठमाण्डौ । मेटलाइफ नेपालले जीवन बीमा योजनासँग जोड्न मिल्ने नयाँ ‘क्रिटिकल इलनेस प्लस’ राइडर योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो राइडरले बीमितलाई गम्भीर रोगको निदानपछि एकमुष्ट रकम भुक्तानी गरी उपचारसँगै आर्थिक स्थायित्वमा सहयोग पुर्याउने उद्देश्य राखेको छ।
नयाँ राइडर अन्तर्गत क्यान्सर, स्ट्रोक, मिर्गौला फेल, कलेजो रोग, मुटु रोग तथा प्रमुख अंग प्रत्यारोपणलगायत ११ प्रकारका गम्भीर रोगहरू समेटिएका छन्। रोगको पुष्टि भएपछि बीमा रकम तुरुन्त उपलब्ध गराइने व्यवस्था गरिएको छ।
मेटलाइफ नेपालका अनुसार यो सुविधा अस्पताल खर्च मात्र नभई उपचारपछिको पुनःस्थापना, आम्दानीको कमी तथा दीर्घकालीन हेरचाहजस्ता आर्थिक चुनौतीहरू सम्बोधन गर्न उपयोगी हुनेछ। प्राप्त रकम ग्राहकले उपचार, विदेश उपचार, घरायसी खर्च वा अन्य आवश्यक आर्थिक दायित्वका लागि प्रयोग गर्न सक्नेछन्।
कम्पनीले यस राइडरलाई किफायती र सहज बनाइएको दाबी गर्दै छुट्टै बीमा योजना आवश्यक नपर्ने गरी विद्यमान व्यक्तिगत जीवन बीमा पोलिसीसँग जोड्न सकिने जनाएको छ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले गम्भीर रोगले स्वास्थ्य र आर्थिक दुवै पक्षमा ठूलो असर पार्ने भएकाले यस्तो समाधानले ग्राहकलाई उपचारमा केन्द्रित हुन सहयोग गर्ने बताए।
यसैसँग कम्पनीले आफ्नो ग्रुप क्रिटिकल इलनेस राइडर पनि परिमार्जन गर्दै अब १४ देखि २० प्रकारसम्मका गम्भीर रोगहरूको कभरेज उपलब्ध गराएको जनाएको छ।
यस पहलले नेपालमा गम्भीर रोग बीमा सेवाको पहुँच र लचिलोपन बढाउने अपेक्षा गरिएको छ।

