सोमबार, श्रावण १८,२०८३ 12:33:44
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 12:33:44
Bizshala
Global IME Bank Limited

ग्यास अभावको कारण आपूर्ति होइन, बजार व्यवस्थापनमा चुनौती देखियो: निगम

ग्यास अभावको कारण आपूर्ति होइन, बजार व्यवस्थापनमा चुनौती देखियो: निगम
New Office

काठमाण्डौ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिए पनि नेपाल आयल निगमले आपूर्ति प्रणालीमा कुनै ठूलो समस्या नरहेको जनाएको छ। निगमका अनुसार भारतबाट कोटा अनुसार ग्यास आयात भइरहे पनि एकैपटक बढेको माग, सिलिन्डर व्यवस्थापन र वितरण प्रणालीका कारण उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेका हुन्।

गत केही दिनयता काठमाण्डौ उपत्यकासहित विभिन्न क्षेत्रमा ग्यास डिलर अगाडि उपभोक्ताको लामो लाइन देखिएको छ। नेपाल, एचपी, गीता लगायतका ब्रान्डका सिलिन्डर बजारमा बढी अभाव भएको उपभोक्ताको गुनासो छ।

निगमका अनुसार पश्चिम एसियाली क्षेत्रमा देखिएको तनावका कारण गत फागुनमा ग्यास आयात प्रभावित भएपछि आपूर्ति सहज बनाउन आधा तौलका सिलिन्डर वितरण गरिएको थियो। चार महिनासम्म आधा तौलको सिलिन्डर बिक्री भएपछि बजारमा ठूलो संख्यामा खाली सिलिन्डर थुप्रिएको र अहिले पूर्ण तौलको सिलिन्डर भर्न उपभोक्ता एकैपटक आउँदा माग बढेको निगमको भनाइ छ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पूर्ण तौलको सिलिन्डर बिक्री खुला गरेपछि उपभोक्ताको चाप बढेको बताए। उनका अनुसार ग्यास आयात नियमित भए पनि असामान्य रूपमा बढेको मागका कारण केही क्षेत्रमा अभाव देखिएको हो। उनले आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरे।

एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले पनि पछिल्लो समय पूर्ण तौलको सिलिन्डर भर्ने उपभोक्ताको संख्या बढ्दा बजारमा दबाब सिर्जना भएको बताए। उनका अनुसार आधा तौलको सिलिन्डर वितरण हुँदा धेरै सिलिन्डर बजारमा पुगेका थिए भने पूर्ण तौलको बिक्री सुरु भएपछि त्यही संख्यामा सिलिन्डर उपलब्ध गराउन कठिन भएको हो।

यता नेपाल ग्यास विक्रेता महासघंले भने उद्योगबाट डिलरसम्म पुग्ने वितरण प्रणालीमा समस्या रहेको जनाएको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार केही उद्योगले डिलरमार्फत नभई आफ्नै रिफिलिङ प्लान्टबाट सिलिन्डर बिक्री गर्दा बजारमा असन्तुलन देखिएको हो।

निगमको तथ्यांकअनुसार गत चैतमा ३८ हजार मेट्रिक टन, वैशाखमा ३२ हजार मेट्रिक टन र जेठमा ३३ हजार मेट्रिक टन ग्यास आयात भएको थियो। असारमा आयात बढेर ४४ हजार मेट्रिक टन पुगेको थियो भने साउन १५ सम्म २६ हजार मेट्रिक टन ग्यास भित्रिएको निगमले जनाएको छ। सामान्य अवस्थामा नेपालमा मासिक करिब ४५ हजारदेखि ५० हजार मेट्रिक टन एलपी ग्यास खपत हुने गर्छ।

बजारमा करिब डेढ करोड सिलिन्डर रहेको भए पनि भण्डारण क्षमता र वितरण व्यवस्थापन कमजोर हुँदा बेला–बेला अभाव दोहोरिने गरेको छ। निजी क्षेत्रमार्फत ग्यास कारोबार हुने प्रणालीमा आपूर्ति शृङ्खला प्रभावकारी बनाउन नसक्दा माग बढ्ने समयमा समस्या देखिने गरेको सरोकारवालाको भनाइ छ।

अभाव कम गर्न निगमले टेकु कार्यालयबाट समेत ग्यास वितरण सुरु गरेको छ। बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म विभिन्न उद्योगमार्फत नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर वितरण गरिएको निगमले जनाएको छ। निगमले आपूर्ति नियमित भइरहेकाले केही दिनभित्र बजार अवस्था सामान्य हुने दाबी गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.