काठमाडौं। ई–पासपोर्ट खरिद प्रक्रियासम्बन्धी छानबिनलाई अगाडि बढाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन म्याद जारी गरेको छ।
उक्त म्याद पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवामार्फत तामेल गरिएको जनाइएको छ।
अख्तियारले अनुसन्धानका क्रममा आवश्यक सोधपुछका लागि डा. राणालाई उपस्थित हुन आग्रह गर्दै पत्राचार गरेको हो। स्वकीय सचिव भानु देउवाले समेत आयोगबाट जारी भएको पत्र आफूले बुझेको स्वीकार गरेका छन्।
बूढानीलकण्ठ नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार अख्तियारको टोली म्याद तामेल गर्न गत मंगलबार बूढानीलकण्ठस्थित निवास पुगेको थियो।
तर, सम्बन्धित व्यक्ति घरमा उपस्थित नभएकाले कानुनी प्रक्रिया अनुसार वैकल्पिक माध्यमबाट पत्र बुझाइएको हो।
उनका अनुसार स्थानीय जनप्रतिनिधिको उपस्थितिमा म्याद तामेली प्रक्रिया सम्पन्न गरिएको थियो।
हाल देउवा परिवार उक्त निवासमा बसोबास नगरेकाले महाराजगञ्जमा रहेका स्वकीय सचिवसँग सम्पर्क गरी पत्र हस्तान्तरण गरिएको बताइएको छ।
अख्तियारले ई–पासपोर्ट खरिद प्रक्रियामा सम्भावित अनियमितताबारे अनुसन्धान गरिरहेको छ।
यस क्रममा सम्बन्धित व्यक्ति तथा निकायबाट जानकारी, कागजात र बयान संकलन गर्ने काम भइरहेको छ।
सोही सिलसिलामा डा.राणालाई पनि अनुसन्धान प्रक्रियामा सहभागी हुन बोलाइएको हो।
स्रोतका अनुसार डा. आरजु राणा देउवा र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हाल विदेशमा रहेका छन्।
उनीहरू स्वदेशमा अनुपस्थित रहेकाले आयोगले कानुनी व्यवस्थाअनुसार प्रतिनिधिमार्फत म्याद तामेल गरेको हो।
अख्तियारले ई–पासपोर्ट खरिदसँग सम्बन्धित विषयमा विभिन्न पक्षसँग अनुसन्धान जारी राखेको जनाएको छ।

